Logo
Logo

१८ करोडको आरोपले कांग्रेसभित्र तरंग


0
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता र नेतृत्व चयनलाई लिएर चर्किएको विवाद अब १८ करोड रुपैयाँको कथित आर्थिक चलखेलको आरोपमा केन्द्रित भएको छ । प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटासँगले प्रहरीमा दिएको बयान भनिएको अडियो सार्वजनिक भएपछि कांग्रेसका शीर्ष नेताहरू नै एकअर्काविरुद्ध सार्वजनिक मञ्चबाट खनिन थालेका छन् ।

सार्वजनिक अडियोमा पार्टी सभापति गगन थापाले कांग्रेसको आधिकारिकता आफ्नो पक्षमा पार्न १८ करोड रुपैयाँको आर्थिक चलखेल गरेको दाबी गरिएको छ । यद्यपि, उक्त अडियोको सत्यता र त्यसमा गरिएको दाबीको आधिकारिक पुष्टि भइसकेको छैन । तर, यही विषयलाई लिएर कांग्रेसको संस्थापन र इतर समूहबीच आरोप–प्रत्यारोपको शृङ्खला सुरु भएको हो ।

गत सोमबार अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा बहस चुलिएको थियो । त्यसको केही दिनमै पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले फरक–फरक सार्वजनिक कार्यक्रममा यस विषयमा धारणा राख्दै एकअर्काको राजनीतिक पक्षमाथि प्रश्न उठाएका छन् ।

शनिबार राष्ट्रिय सभागृहमा इतर समूहले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले १८ करोड रुपैयाँको प्रसंग उठाउँदै पार्टीको आधिकारिकता पैसाको बलमा आफ्नो पक्षमा पारिएको आरोप लगाए । ‘इनाम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?’ आश्चर्य व्यक्त गर्दै उनले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’

देउवाले अडियोमा गरिएको दाबीलाई थप बल पु¥याउने प्रयास गर्दै निर्वाचन आयोगको तत्कालीन नेतृत्वसँग जोडिएको प्रसंगसमेत सुनाए । कांग्रेसको आधिकारिकता विवादका क्रममा निर्वाचन आयोगका तत्कालीन कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले आफ्नो ज्यानको खतरा रहेको बताएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको उनको भनाइ थियो ।

‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालेका थियौँ हामीले । तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर जो न्युजमा आएको थियो है– मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ देउवाले भने, ‘तर, त्यो महिला चाहिँ (आयुक्त जानकी तुलाधर) नडराउने, उ डराउने कहीँ हुन्छ ? पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त।’

गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको सहमतिबिना महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो। उक्त महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ गते अद्यावधिक गरेपछि देउवा पक्ष पार्टीको आधिकारिक नेतृत्वबाट बाहिरिएको थियो । देउवाले अहिले यही निर्णयमाथि प्रश्न उठाउँदै आएका छन्।

तर, अर्कोतर्फ कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले भने १८ करोडको आरोपलाई प्रमाणविहीन प्रचारको संज्ञा दिएका छन् । शनिबार नै काभ्रेमा आयोजित ‘नेपाली कांग्रेसको बदलिएको सोच र कार्यशैली’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै शर्माले गगन थापाको नेतृत्वलाई आर्थिक लेनदेनसँग जोडेर भइरहेको प्रचारको खण्डन गरे ।

उनले पार्टी नेतृत्व चयनमा आर्थिक चलखेल भएको दाबीमाथि प्रश्न उठाउँदै आफूहरू त्यति ठूलो रकम बुझाउन सक्ने हैसियतमा नरहेको तर्क गरे । ‘एकपटक केवल स्वास्थ्य मन्त्री आठ–नौ महिना भएको गगन थापा र जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा । करोडौँ–करोड बुझाउनुप¥यो भने हामी दुई भाइले बुझाउन सकौँला कि ? वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू त उहाँहरूले बुझाउन सक्ने होइन र ?’ शर्माले प्रश्न गरे ।

आरोप लगाउने व्यक्तिको पृष्ठभूमि र दाबीको विश्वसनीयतामाथि पनि शर्माले प्रश्न उठाए । कुनै व्यक्तिले कुनै राजनीतिक नेतालाई प्रधानमन्त्री बनाउन ५० करोड रुपैयाँको लेनदेन भएको दाबी गर्दैमा त्यसलाई कानुनी प्रमाण मान्न नसकिने उनको तर्क थियो । ‘एउटा बिचौलियाले कतै भन्यो अरे । कसैले केही भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालका मान्छे त्यसैको पछाडि उफ्रिनुहुन्छ कि हुन्न ?’ उनले प्रश्न गरे ।

विशेष महाधिवेशनबाट स्थापित नेतृत्वले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरी गगन थापाको सभापतित्वमा आगामी चार वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । तर, निवर्तमान सभापति देउवासहित उनीनिकट नेताहरू उक्त महाधिवेशनमा सहभागी भएनन् ।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार नगरेको देउवा पक्षले अहिले समानान्तर महाधिवेशनको तयारीस्वरूप पार्टीका तल्ला तहमा अधिवेशन गराइरहेको छ । यसरी कांग्रेसभित्रको नेतृत्व र आधिकारिकताको पुरानो विवादमा १८ करोडको कथित आर्थिक चलखेलको आरोप थपिएसँगै पार्टीका दुई पक्षबीचको दूरी झन् बढेको देखिन्छ । अडियोको सत्यता र आरोपको कानुनी आधारबारे स्पष्टता आउन बाँकी रहे पनि शीर्ष नेताहरू नै सार्वजनिक मञ्चबाट आरोप–प्रत्यारोपमा उत्रिनुले कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बनेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000