काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्डको घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी सुमित खड्काका अनुसार, गएराति ११ बजेतिर पहिरो गएको हो । पहिरोका कारण अहिले सो सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

राजमार्ग अवरुद्ध भएपछि तिहार मनाउन गन्तव्यतर्फ हिँडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन् । उक्त खण्डमा सवारीसाधनको लामो जाम लागेको र चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि हिजो पनि सोही खण्डमा पहिरो खसेको थियो । उक्त पहिरो दिउँसो ९ घण्टापछि मात्रै हटाउन सकिएको थियो ।


















