Logo
Logo

नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा होः सभामुख


0
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल सम्वत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन् ।

मंगलबार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल सम्वत् कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताएका हुन् ।

‘नेपाल सम्वत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो। त्यसैले नेपाल भाषा, नेपाल लिपि र समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक छ,’ अर्यालले भने ।

उनले नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको महत्त्वपूर्ण धरोहर भएको उल्लेख गरे ।

‘नेपाल सम्वत् केवल समय गणना गर्ने पात्रो मात्र होइन, यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो,’ उनले भने।

नेपाल सम्वतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको बताउँदै उनले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराएर साख्वाले सामाजिक न्याय, परोपकार र सामूहिक हितको सन्देश दिएको स्मरण गरे। नेपाल सम्वत् ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्त्व नेपाल मण्डलको जीवन पद्धतिसँग गहिरो रूपमा जोडिएको उनको भनाइ छ ।

‘नेपाल सम्वतको प्रारम्भ राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग जोडिएको छ। ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई उहाँले स्थापना गर्नुभएको यस सम्वतले सामाजिक न्याय, परोपकार र सामूहिक हितको महान सन्देश दिएको छ,’ अर्यालले भने।

चाडपर्व, जात्रा, संस्कार र परम्पराको निरन्तरतामा नेपाल सम्वतको महत्त्वपूर्ण भूमिका रहँदै आएको उनले बताए। नेपाल सम्वत् नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय समेत भएको उनले उल्लेख गरे।

विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस आन्दोलनले महत्त्वपूर्ण आवाज उठाएको अर्यालले स्मरण गरे।

‘नेपाल सम्वत् आन्दोलन नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको पनि महत्त्वपूर्ण अध्याय हो। विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस अभियानले महत्त्वपूर्ण आवाज उठाएको थियो,’ उनले भने।

सभामुख अर्यालले मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षणमा सबैलाई एकजुट हुन आह्वान पनि गरे।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000