
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।
मंगलबार गणेशमान सिंहको ११३औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिबाटिकास्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताए । उनले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसङ्ग स्मरण गरे ।
‘गणेशमान सिंहको त्याग नेपाली राजनीतिमा अनुपम उदाहरण हो। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न आग्रह गर्दा उहाँले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिश गर्नुभयो,’ उनले भने, ‘यसबाट प्रधानमन्त्री जनताको चाहना र छनोटअनुसार बन्नुपर्छ भन्ने महत्वपूर्ण लोकतान्त्रिक सन्देश उहाँले दिनुभएको थियो ।’
गणेशमानको निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्ने राजनीतिक सन्देश दिएको उनको भनाइ छ । नेता सिंहले गणेशमान सिंहले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा जोड दिएको स्मरण गरे ।
‘आज राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती देखिएका बेला गणेशमान सिंहलगायत अग्रज नेताहरूले देखाउनुभएको त्याग, निष्ठा र आदर्शको बाटोमा अघि बढ्नु आवश्यक छ,’ सिंहले भने, ‘नेपाली कांग्रेसले पनि आफ्नो ऐतिहासिक सिद्धान्त, लोकतान्त्रिक मूल्य र जनताप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीभित्र एकता र विधिको शासन कायम गर्नुपर्छ ।’
कांग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै उनले पार्टीको विधान, नियम र परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गरे। पार्टी सभापति र केन्द्रीय कार्यसमितिको सहमतिमा मात्रै विशेष महाधिवेशन हुने कांग्रेसको परम्परा रहेको उल्लेख गरे ।
‘नेपाली कांग्रेसको विधान, नियम र स्थापित परम्परालाई बेवास्ता गर्दै केही व्यक्तिहरू भेला भएर कुनै कार्यक्रमलाई विशेष महाधिवेशनको संज्ञा दिँदैमा त्यसले वैधानिक विशेष महाधिवेशनको मान्यता प्राप्त गर्न सक्दैन,’ उनले भने, ‘पार्टीको स्थापित अभ्यास र प्रक्रियाअनुसार हुनुपर्ने विशेष महाधिवेशनलाई जबर्जस्ती रूपमा व्याख्या गरेर १४औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति र केन्द्रीय कार्यसमितिलाई विस्थापित गर्ने अधिकार कसैलाई छैन ।’
१४औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रीय कार्यसमितिलाई भङ्ग गर्ने अधिकार त्यस्तो भेलालाई नरहेको उनको भनाइ छ। उनले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले देखाएको सिद्धान्त र आदर्शको बाटोमा कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।
‘बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेरजस्ता अग्रज नेताहरूले सिद्धान्त, आदर्श, राष्ट्रियता र लोकतन्त्रका पक्षमा अडिग रहँदै अनेकौँ दुःख, जेलजीवन र संघर्ष बेहोर्नुभयो,’ उनले भने, ‘उहाँहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सिद्धान्त र राष्ट्रको हितलाई सधैँ माथि राख्नुभयो ।’


















