
काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले भाइटीका लगाएका छन् । यो मन्दिर वर्षमा एक पटक भाइटीकाको दिनमा मात्रै खुलाइने परम्परा छ । दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरू आजको दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा तथा दर्शन गरेर टीका लगाउने गर्छन् ।
तिहारको मुख्य दिन अर्थात् भाइटीका पर्वमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्छन् । आज पनि टीका लगाउन बिहानैदेखि दिदीबहिनी वा दाजुभाइ नहुनेहरुको भीड लागेको छ ।


















