Logo
Logo

राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा जुट्यो एमाले, ३ हजार १६४ प्रतिनिधि सहभागी हुँदै


0
Shares

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ । काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन एमालेले तयारी तीव्र पारेको छ ।

भेलालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उक्त भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने एमालेले जजनाएको छ ।

भेलाको तयारीलाई अन्तिम रूप दिन आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ । बैठकमा विभिन्न प्रदेशबाट सहभागी हुने प्रतिनिधिहरूको अवस्था, व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीबारे विस्तृत समीक्षा गरिएको थियो।

बैठकमा पार्टी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरूको उपस्थिति रहेको थियो। भेलाको तयारीका लागि जिम्मेवारी पाएका विभिन्न प्रदेशका फोकल पर्सनहरूले आआफ्नो प्रदेशबाट हुने सहभागिताबारे रिपोर्टिङ गरेका थिए ।

उनीहरूले प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने जानकारी गराउँदै तयारीका कामहरू तीव्र गतिमा अघि बढिरहेको बताएका थिए ।कार्यक्रमस्थलमा सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका तयारीलाई तीव्रता दिइएको छ ।

भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।

यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन पार्टीले भेलामा सहभागी हुन आउने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गरी कार्यक्रमस्थलमा उपस्थित हुन आग्रह गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000