
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीका ७ वटा भ्रातृ संस्थाहरूमा समानान्तर समिति गठन गरेको छ । आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औं महाधिवेशन गर्ने तयारी गरिरहेको देउवा समूहले तल्लो तहका अधिवेशनहरूसँगै भ्रातृ संस्थाहरूमा पनि समानान्तर समिति बनाएर सक्रिय बनाएको हो ।
भ्रातृ संस्थाहरूको संयोजक तोकिएको पत्रमा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले हस्ताक्षर गरेका छन् । संयोजक डा. कोइरालाद्वारा हस्ताक्षरित पत्रमा गठित सबै भ्रातृ संस्थाका अध्यक्षहरूलाई ६ महिनाभित्र महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्ने कार्यादेश (म्यान्डेट) दिइएको उल्लेख छ ।
पत्रअनुसार ‘नेपाल तरुण दल’ को अध्यक्षमा दिल लामा, ‘नेपाल विद्यार्थी संघ’ को अध्यक्षमा सिर्जना मल्ल, ‘नेपाल आदिवासी जनजाति संघ’ को अध्यक्षमा अमिर लामा मोक्तान, ‘नेपाल सांस्कृतिक संघ’ को अध्यक्षमा अर्जुन गिरी, ‘लोकतान्त्रिक अपाङ्ग संघ’ को अध्यक्षमा विकास थापा, ‘नेपाल दलित संघ’ को अध्यक्षमा यमुना विश्वकर्मा र ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ’ को अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन गरिएको छ ।
मनोनित नेतृत्वमध्ये लामा कांग्रेसमा विवाद हुनुअघिको तरुण दल केन्द्रीय समितिमा सदस्य थिए । त्यस्तै नेविसंघको अध्यक्ष बनाइएकी मल्ल यसअघि दुजाङ शेर्पा नेतृत्वको समितिमा केन्द्रीय सदस्य थिइन् ।
आदिवासी जनजाति संघका अध्यक्ष मोक्तान यसअघि तीर्थ लामा नेतृत्वको समितिमा महामन्त्री थिए भने सांस्कृतिक संघका अध्यक्ष गिरी केन्द्रीय सदस्य थिए । खेलकुद संघको नेतृत्व पाएका प्रधान सोही संघका पूर्वमहासचिव हुन् ।
बाँकी रहेका अन्य भ्रातृ संस्थाहरूमा पनि समानान्तर समिति गठन गर्ने तयारी भइरहेको देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयले जनाएको छ ।


















