
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको इभी हाइस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवार र स्थानीय प्रशासनबीच सहमति भएको छ ।
मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने, अभिभावकविहीन बनेका बालबालिकालाई सहयोग गर्ने र पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था सरकारले गर्ने सहमति भएको हो । सहमति जुटेसँगै मृतकको शव पोस्टमार्टमका लागि प्रक्रिया अघि बढाइएको छ ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये पाँच जनाको गएराति नै पोस्टमार्टम गरिएको थियो । दुर्घटनामा ज्यान गुमाएका चालकको पोस्टमार्टम सकिएपछि परिवारले शव बुझेर लगिसकेको छ । बाँकी ९ जनाको अहिले पोस्टमार्टम भइरहेको छ ।
बिहीबार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित सडकबाट करिब पाँच सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।
छठ पर्व मनाउन घर फर्किंदै गरेका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका यात्रु दुर्घटनामा परेका थिए । दुर्घटनामा एकै घरका ६ जनासहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।


















