Logo
Logo

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम जाँदै, गंगासागरमा पूजा गर्ने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम जाँदै छन्। सभापति लामिछाने पत्नी निकिता पौडेलसहित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित गंगासागरमा विधिपूर्वक छठ मनाउन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

रास्वपा मधेश प्रदेश कार्यालयले जारी गरेको कार्यतालिकाअनुसार लामिछाने शनिबार दिउँसो १२:१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म सोही स्थानमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुनेछ। साँझ ५ बजे भने छठ पर्वको विधि ‘खरना’ पूजा तथा अन्य तयारीका लागि उनी निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्नेछन्।

यस्तै, आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जनकपुरधामसहित आसपासका विभिन्न धार्मिक स्थलहरूको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ। यस क्रममा उनी जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायण मठ र जलेश्वरनाथ मन्दिरलगायतका धार्मिक स्थल पुग्नेछन्। आइतबार दिउँसो ३ बजेदेखि गंगासागरमा आयोजना हुने छठको मुख्य पूजाअर्चना तथा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने अनुष्ठानमा सहभागी हुने कार्यतालिका छ।

त्यसैगरी, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी छठको विधि सम्पन्न गरेपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ। मधेश प्रदेश महामन्त्री मानिकुमार साहद्वारा जारी विज्ञप्तिमा पार्टीका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक समन्वय र उपस्थितिका लागि आग्रह गरिएको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000