काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले छठ पर्वका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न विगतका घटनाको विश्लेषण गरी सुरक्षा योजना थप मजबुत बनाउन निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
केसीले छठ पर्वका क्रममा नदी, तलाउ तथा पोखरीका घाटमा ठूलो भीड हुने भएकाले विशेष सुरक्षा रणनीति अपनाउन र विशिष्ट व्यक्तिको सुरक्षामा ध्यान दिन निर्देशन दिए । उनले सुरक्षा व्यवस्थामा देखिएका कमी कमजोरी समयमै सुधार गर्न तथा परिस्थितिको मूल्याङ्कन गरेर बल प्रयोग गर्दा विशेष संवेदनशीलता अपनाउन पनि आग्रह गरे ।
उनले चाडपर्वपछि हुन सक्ने अवाञ्छित गतिविधिबारे सूचना सङ्कलन गरी विशेष सुरक्षा योजना बनाउनसमेत निर्देशन दिएका छन् । सीमा नाकामा हुने आपराधिक गतिविधि र तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन तथा गैरव्यावसायिक गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन उनले निर्देशन दिए ।
कार्यक्रममा केसीले काठमाडौं उपत्यका र सातवटै प्रदेशका प्रहरी कार्यालयबाट छठ पर्वका लागि तयार गरिएका सुरक्षा योजनाबारे जानकारीसमेत लिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक तथा अन्य प्रहरी अधिकारीहरूको उपस्थिति थियो ।


















