Logo
Logo

रास्वपा नेताहरूको भ्रमणको खर्च चीनले नै व्यवस्थापन गर्ने


0
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रास्वपा नेताहहरुको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले जानकारी गराएका हुन् ।

The current image has no alternative text. The file name is: rasapa-1.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले विदेश भ्रमणलाई लिएर रास्वपाका सांसदहरूले उठाउँदै आएका प्रश्नलाई विरोधका रूपमा बुझ्न नहुने बताए । उनले सांसदहरूले विदेश भ्रमणको औचित्य, त्यसमा राज्यकोषको सदुपयोग भए-नभएको र भ्रमणमा सही व्यक्तिहरू सहभागी भए-नभएको विषयमा प्रश्न उठाएका बताएका हुन् । 

उनले कुनै पनि देशको प्रतिनिधित्व गर्दै विदेश जाने व्यक्तिहरूको भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउनु स्वाभाविक भएको बताए । विदेश भ्रमणमा राज्यकोषको दुरुपयोग हुन नहुने र भ्रमणको औचित्य पुष्टि हुनुपर्ने विषयमा रास्वपाभित्रैबाट प्रश्न उठ्नु सकारात्मक भएको उनले बताए । 

आचार्यले चीनको कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको आफ्नो टोलीको भ्रमण पूर्णतः औपचारिक रहेको उल्लेख गर्दै नेपालबाट प्रस्थानदेखि स्वदेश फर्किने समयसम्मको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले नै गर्ने जानकारी दिए । त्यसैले भ्रमणमा नेपालको राज्यकोष खर्च नहुने उनले स्पष्ट पारे । यसअघि पनि रास्वपाका सांसदहरूले विभिन्न सरकारी तथा राजनीतिक भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे प्रश्न उठाउँदै आएका थिए । महामन्त्री आचार्यले त्यस्ता प्रश्नलाई विदेश भ्रमणको विरोध नभई भ्रमणलाई जवाफदेही र परिणाममुखी बनाउन गरिएको सचेतनाका रूपमा बुझ्नुपर्ने बताए ।

चीन भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले दुई देशका सत्तारुढ दलबीचको सम्बन्ध विस्तार, विपद्पछिको व्यवस्थापन र आर्थिक सहकार्यका सम्भावनाबारे छलफल गर्ने कार्यक्रम रहेको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000