Logo
Logo

आईपीएल २०२७ को मिनि अक्सनअघि १० वटै टोलीका खेलाडी सूची सार्वजनिक


0
Shares

काठमाडौँ । इन्डियन प्रिमियर लिग (२०२७) को मिनि अक्सनअघि प्रतियोगितामा सहभागी सबै १० टोलीले आ–आफ्नो टोलीमा कायम राखिएका र फुकुवा गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेका छन् ।

यसै क्रममा चेन्नई सुपर किङ्सले १४.२० करोड भारतीय रुपैयाँ मूल्यका प्रशान्त वीरलाई टोलीबाट फुकुवा गरेको छ।

आगामी डिसेम्बर १६ मा भारतको गोवामा लघु लिलामी आयोजना हुँदै छ। लिलामीअघि कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले समान ९–९ जना खेलाडीलाई फुकुवा गरेका छन्। सबैभन्दा धेरै खरिद कोष लखनऊ सुपर जायन्ट्ससँग ४७.४५ करोड रुपैयाँ बाँकी छ।

कोलकाताले गत लिलामीमा पथिरानालाई १८ करोड रुपैयाँमा खरिद गरेको थियो, तर चोटका कारण उनले २०२६ को संस्करणमा केवल १ खेल मात्र खेल्न सके। मुस्ताफिजुरले पनि गत संस्करणमा एउटा पनि खेल खेल्न पाएनन्। यद्यपि, कोलकाताले क्यामरन ग्रिनलाई भने टोलीमा कायमै राखेको छ। गत लिलामीमा २५.२० करोड रुपैयाँमा किनिएका ग्रिनले २०२६ को संस्करणमा १४ पालीमा ३२२ रन बनाउनुका साथै ७ विकेट लिएका थिए।

व्यस्त तालिकाका कारण ट्राभिस हेडद्वारा हैदराबादबाट नाम फिर्ता
सनराइजर्स हैदराबादका सुरुवाती क्रमका खेलाडी ट्राभिस हेडले २०२७ को संस्करण नखेल्ने भएका छन्। व्यस्त अन्तर्राष्ट्रिय खेल तालिकाका कारण उनले आगामी संस्करणबाट स्वयं बाहिरिने निर्णय गरेका हुन्। उनी बाहिरिएसँगै हैदराबादको कोषमा १४ करोड रुपैयाँ थपिएको छ। हेड र अभिषेक शर्माको जोडीले गत संस्करणमा टोलीलाई तीव्र सुरुवात दिलाएको थियो। अब हैदराबादले सुरुवाती जोडीका लागि नयाँ विकल्प खोज्नुपर्नेछ।

दिल्लीबाट स्टार्क र राणा बाहिरिए
दिल्ली क्यापिटल्सले मिचेल स्टार्क र नितीश राणालाई टोलीबाट फुकुवा गरेको छ। स्टार्क बाहिरिएसँगै दिल्लीको कोषमा अतिरिक्त ११.७५ करोड रुपैयाँ जम्मा भएको छ। नितीश राणा र श्रीलङ्काका पाथुम निसाङ्काको गत संस्करण अपेक्षाअनुरूप रहन सकेन। राणाले ९ पालीमा २२५ र निसाङ्काले १० पालीमा २७८ रन बनाएका थिए। यता, बेन डकेटले पाँचदिवसीय क्रिकेटमा ध्यान केन्द्रित गर्न २०२६ को संस्करण खेलेका थिएनन्।

मुम्बईद्वारा बोल्ट र चाहर फुकुवा
मुम्बई इन्डियन्सले ट्रेन्ट बोल्ट र दीपक चाहरलाई टोलीबाट हटाएको छ। बोल्टले गत संस्करणका ५ खेलमा जम्मा २ विकेट मात्र लिएका थिए भने चाहरले ८ खेलमा ८ विकेट हात पारेका थिए।

राजस्थानले हेटमायरलाई पनि छोड्यो
राजस्थान रोयल्सले सिमरोन हेटमायरलाई फुकुवा गरेको छ। यसबाट टोलीको कोषमा थप ११ करोड रुपैयाँ जोडिएको छ। राजस्थानले तुषार देशपाण्डे र एडम मिल्नेलाई पनि टोलीबाट मुक्त गरेको छ।

पञ्जाबमा स्टोइनिस कायम, वढेरा फुकुवा
पञ्जाब किङ्सले अस्ट्रेलियाली चौतर्फी खेलाडी मार्कस स्टोइनिसलाई टोलीमा यथावत् राख्ने निर्णय गरेको छ भने नेहल वढेरालाई फुकुवा गरेको छ। स्टोइनिसले २०२६ को संस्करणमा १३ खेल खेल्दै ९ पालीमा १८० को प्रहार दरका साथ २१६ रन बनाएका थिए। बलिङतर्फ उनले ७.५ ओभरमा २ विकेट लिएका थिए।

बेङ्गलुरुले ज्याकब बेथेललाई फुकुवा गर्‍यो
रोयल च्यालेन्जर्स बेङ्गलुरुले ज्याकब बेथेल, रिचर्ड ग्लिसन, मङ्गेश यादव, सात्विक देसवाल र विहान मल्होत्रालाई फुकुवा गरेको छ। बेथेललाई टोलीबाट हटाइनुलाई अप्रत्याशित मानिएको छ। उनको हालै घुँडाको शल्यक्रिया गरिएको र पूर्ण रूपमा निको हुन अनुमानभन्दा बढी समय लाग्न सक्ने देखिएको छ।

गुजरातबाट शाहरुख खान बाहिर
गुजरात टाइटन्सले इशान्त शर्मा, लुक उड, कुलवन्त खेजरोलिया, शाहरुख खान र कोनोर एस्टरहुइजनलाई फुकुवा गरेको छ। इशान्त र खेजरोलियाले गत संस्करणमा खासै अवसर पाएका थिएनन्।

चेन्नईद्वारा प्रशान्त वीरसहितका खेलाडी फुकुवा
चेन्नई सुपर किङ्सले धोनीका साथै म्याथ्यू सर्ट, म्याट हेनरी, ज्याक फल्क्स, प्रशान्त वीर, अमन खान, कुलदीप यादव, आकाश मधवाल, डियान फरेस्टर र म्याकनील नोरोन्हालाई फुकुवा गरेको छ। हाल चेन्नईको कोषमा २८.०५ करोड रुपैयाँ बाँकी रहेको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000