Logo
Logo

‘अमेरिकी दबदबा अन्त्य भइसक्यो, चीन शक्तिशाली बन्यो’


डा. दीपकप्रकाश भट्ट, भूराजनीति तथा सुरक्षा मामिलाविज्ञ

0
Shares

उदारवादी लोकतान्त्रिक व्यवस्थामा आएको संकट, बदलिँदो विश्व राजनीति र सुरक्षा चुनौतीबारे भूराजनीति तथा सुरक्षा मामिलाविज्ञ डा. दीपकप्रकाश भट्टसँग दृष्टिका लागि हिरेन्द्र शाहीले गरेको कुराकानीको सम्पादित अंशः

विश्व राजनीति कसरी अगाडि बढिरहेको छ ? के विश्व तेस्रो विश्वयुद्धको नजिक छ ?
खासगरी सन् १९९० पछि विश्व राजनीतिमा थुप्रै बदलाबहरु देखापरेका छन् । तेस्रो विश्वयुद्धको कुरा गर्दा पहिलो र दोस्रो विश्वयुद्धको पृष्ठभूमि बुझ्न आवश्यक छ । औपनिवेशिक प्रणालीबाट विश्व राजनीति नयाँ दिशामा जान खोजेको थियो । अहिलेको विश्व व्यवस्था भनेको कुनै व्यवस्थाबिनाको विश्व व्यवस्था हो । त्यो भनेको चीनको उदय हो र सँगसँगै भारतको विकास पनि हो । समग्र युरोपको अवस्था हेर्दा अर्थतन्त्र एकदमै गिर्दो अवस्थामा छ र युरोप नेटोको छायाँजस्तै बनेको देखिन्छ, जसका कारण अहिले नै विश्वयुद्ध हुने सम्भावना देखिँदैन । पछिल्लो दश वर्षमा अमेरिका फेरि ‘मेक अमेरिका गे्रट अगेन’ भन्ने राष्ट्रवादी नारा लिएर अगाडि बढिरहेको छ । अबको चुनौती भनेको वातावरणीय चुनौती हो । पछिल्लो समय युरोप र अमेरिकामा केही दिन र महिनाका लागि खाद्यान्न, औषधि, ऊर्जालगायतको व्यवस्था गर्न भनिएको यसैलाई लक्षित गरेर हो । पश्चिमा केन्द्रित विश्व व्यवस्था तिलमिलाएको छ र त्यसका नटबोल्टहरु हल्लिरहेका छन् । यस्तो बेला तेस्रो विश्वयुद्ध गर्ने दुस्साहस कसैले गर्ने अवस्था देखिँदैन ।

युरोप र अमेरिकाले किन आफ्ना नागरिक र सैन्य अखडाहरूलाई एक हप्तादेखि ९० दिनसम्म पूर्ण तयारीका साथ बस्ने भन्ने आदेश दिए ? निकट भविष्यमा कुनै ठूलो युद्धको खतरा छ ?
खासगरी युरोपका देशहरुले वातावरणीय परिवर्तनलाई लिएर आफ्ना नागरिकहरुलाई कम्तीमा एक हप्तासम्म पुग्ने गरी खाद्यान्न, औषधि, ऊर्जा, नगद पैसाको व्यवस्था गरेर बस्न अनुरोध गरेको छ । त्यसैगरी अमेरिकाले पनि आफ्ना सैन्य अखडाहरुलाई कम्तीमा ९० दिनसम्म पुग्नेगरी ऊर्जा, खाद्यान्न, सूचना प्रणाली, औषधिलगायत आवश्यक सामग्रीहरु व्यवस्था गरेर बस्न अमेरिकी डिपाटमेन्ट अफ वारले सूचना जारी गरेको थियो । यो सबै घटनाक्रम हेर्दा पनि तत्कालै कुनै प्रकारको विश्वयुद्ध भैहाल्ने अवस्था म देख्दिनँ । त्यसैले यी सबै घटनाक्रमहरु वातावरणीय परिवर्तनको प्रभाव र कुनै अप्रिय घटना भइहाले सतर्क भएर बस्नु पर्दछ भन्नेगरी हिसाब आएको देखिन्छ । किनभने, युरोपको पनि सहभागिता रहेको रसिया युक्रेन युद्धमा रसियाले जितिरहेको देखिन्छ । उता अमेरिकाले इरानमाथिको आक्रमण बढाउने स्थिति देखिँदैन । किनभने, इरानमा अमेरिकाले सोचेजस्तो सफलता हासिल गर्न सकेन, त्यसैले सिङ्गो पश्चिमा देशहरु नै अर्को कुनै विश्वयुद्ध गर्ने अवस्थामा देखिँदैन । त्यसको उदाहरण त चीनका राष्ट्रपति अमेरिका भ्रमणमा जाँदा अमेरिकी राष्ट्रपति एयरपोर्टमै आएर चिनियाँ राष्ट्रपतिलाई स्वागत गरे । त्यो घटनाले आजको विश्व व्यवस्था के हो भन्ने पुष्टि गर्छ ।

विश्वका विभिन्न देशहरुमा भइरहेका युद्धहरुलाई कसरी लिन सकिन्छ । अमेरिकी मध्यावधि निर्वाचनको परिणमले विश्व राजनीतिमा कस्तो असर पार्ला ?
पश्चिम एसियामा भइरहेको युद्धकै परिणामस्वरुप अमेरिकाको मध्यावधि निर्वाचनमा ट्रम्पले निर्वाचन हार्नुप¥यो । इरानको सभ्यता नै एकैरातमा सक्काइदिन्छु भन्ने थियो तर परिणाम ठीक उल्टो भयो । रसिया र युक्रेन युद्धमा पनि पश्चिमा देशहरुले हार्दै गएका छन् । जहाँसम्म चीन र ताइवानको मामिला छ, त्यहाँ युद्ध नभई शान्तिपूर्ण तरिकाले नै चीनले आफ्नो एकीकरण प्रक्रियामा ताइवानलाई लिने देखिन्छ । केही वर्ष अगाडि अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणकै क्रममा पनि विश्वसामु चीनले आफ्नो शक्ति प्रदर्शन ग¥यो । आजको चीन अर्थतन्त्र, सैन्य क्षमता, प्रविधि, रेअर अर्थ, उत्पादन, विकास र खपतका हिसाबले निकै बलियो र माथि देखिन्छ । रेअर अर्थमा पनि अहिले चीन धेरै अगाडि आइसक्यो । जापान क्रमशः कमजोर बन्दै गएको छ । त्यसैले जापान र दक्षिण कोरिया दुवैले आफ्नो सैन्य क्षमता बढाउँदै गएको देखिन्छ । आफ्नो छिमेकी चीन बलियो भएर आएपछि उनीहरु पनि सचेत भएको देखिन्छ । उनीहरुले रक्षा बजेट बढाएर काम गरिरहेका छन् तर अहिले नै उनीहरुले चीनलाई चुनौती दिन भने सक्दैनन् । युरोपको बलियो देश जर्मनीले नै रिसर्ज एण्ड डेभलपमेन्टमा खासै लगानी बढाउन सकेको छैन । युरोपतिर पनि जताततै राजनीतिक आन्दोलन भइरहेको अवस्था छ । फ्रान्समा इतिहासकै सबैभन्दा बढी सार्वजनिक र निजी सम्पत्तिको क्षति व्यहोनुप¥यो । विश्वभर भइरहेको राजनीतिक परिवर्तनको असरमा अमेरिका र खासगरी ट्रम्प प्रशासन जिम्मेवार छ भन्ने बुझेर अमेरिकी जनताले ट्रम्पलाई मध्यावधि निर्वाचनमै घँुडा टेकाइदिए । निर्वाचनको परिणामपछि अमेरिकी नीति फेरिने अवस्था आउँछ र विश्व एउटा नयाँ विश्व व्यवस्थामा प्रवेश गर्न सक्छ ।

अहिलेको विश्व व्यवस्था के हो ? एक ध्रुवीय, बहुध्रुवीय वा द्विध्रुवीय कता जाँदैछ ?
बहुधु्रवीयतातर्फ पूर्ण रुपमा उन्मुख रहेको अवस्थाका रुपमा अहिलेको विश्व व्यवस्थालाई बुझन् सकिन्छ । युरोप, अफ्रिका एक ब्लकजस्तो भएर आइरहेका छन् । यो सबै हेर्दा अहिलेको विश्व व्यवस्था चीन, अमेरिका, रसिया र भारत केन्द्रित हुँदै गएको छ । पश्चिमा शक्तिहरु क्रमशः कमजोर हुँदै गएको देखिन्छ । युरोपभरि विभिन्न खालका राजनीतिक आन्दोलनहरु भइरहेका छन् । जसले गर्दा युरोप आफैँ अशान्त भइरहेको छ र अर्थतन्त्र पनि कमजोर हुँदै गएको छ । अफ्रिकन युनियनजस्तै संरचनामा गयो भनेमात्रै युरोपको अस्थित्व सुरक्षित हुन्छ । अफ्रिकन युनियनले मुद्रा, सुरक्षा, राजनीति आदि मामिलाहरुमा आफूलाई एक ठाउँमा राखेर अगाडि बढिरहेका छन् । आर्थिक हिसाबले अमेरिका तीस र चीन बीस ट्रिलियन अर्थिक शक्ति हुन् । सैन्य मामिलामा पनि चीन अमेरिका नजिक पुग्दैछ । सबै मापदण्डलाई हेर्दा चीन विश्व व्यवस्थाका लागि अनिवार्य राष्ट्र भइसकेको छ । संसारभर भइरहेका युद्धहरुमा पनि कुनै न कुनै हिसाबले चीन पर्दा पछाडि देखिन्छ । रसिया–युक्रेन युद्ध पनि यति लामो समय जान्छ भन्ने विश्लेषण थिएन । तर, अब यो युद्ध पनि करिब पाँच वर्षमा पुग्दैछ । सिङ्गो पश्चिमा शक्ति लाग्दा पनि युक्रेनले सोचेअनुसार युद्धमा सफलता हासिल गर्न सकेन । युक्रेनको करिब २० प्रतिशतभन्दा बढी भूभाग रसियाले कब्जा गरिसकेको छ । त्यसैले अहिलेको विश्व व्यवस्थामा अमेरिकी दबदबा अन्त्य भइसकेको छ भने अन्य राष्ट्रहरु चीन, रसिया, भारतलगायतका देशहरु उदयीमान रूपमा अगाडि आइरहेका छन् । यी सबै अन्तर्राष्ट्रिय घटनाक्रम हेर्दा उदारवादी विश्व व्यवस्था तीव्र रुपमा विघटन भइरहेको छ भने नयाँ बहुधु्रवीय विश्व व्यवस्था देखापरेको छ । तसर्थ, क्रमशः नयाँ विश्व व्यवस्थामा विश्व राजनीति संक्रमण गर्दैछ ।

सुप्रा नेशनको अवधारणा र नेपालको अस्तित्वलाई कसरी लिन सकिन्छ ? चीन र भारतको अरुणाञ्चल विवाद के हो ?
साउथ एसियाले पनि केही सबरिजनल संंरचनामा काम गर्न खोजेको थियो तर सार्क भारत र पाकिस्तानबीचको द्वन्द्वले गर्दा सोचेजस्तो कार्य गर्न सकेन । सार्क कोमामा पुग्यो । सार्कको विकल्पमा भारतले बिमिस्टेक बनायो तर त्यो पनि सोचेअनुसार सक्रिय हुन सकेन, यसको अर्थ के देखिन्छ भने दक्षिण एसियामा कुनै पनि प्रकारको क्षेत्रीय संरचना स्थायी खालको बन्ने अवस्था देखिँदैन । केही समयअघि भारतामा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको अभिव्यक्ति आपत्तिजनक छ । किनभने, नेपालमा राष्ट्रवादी शक्ति बलियो अवस्थामा छन् । पुर्खाहरुले लडेर नेपालको अस्तित्व बचेको थियो । त्यसैले अहिले कसैले हल्का टिप्पणी गर्दैमा नेपालको अस्तित्व कमजोर हुँदैन । राष्ट्र र राष्ट्रियता के हो भन्ने बिर्सिएपछि मान्छेले यस्तो बोल्छ । भारतको ‘हेजेमोनिक माइन्ड सेट’ हट्न जरुरी छ । छिमेकीहरुसँगको सम्बन्ध राम्रो बनाउनका लागि पनि नीति सच्चिन आवश्यक छ । भारतले छिमेक प्रथम नीति अवलम्बन गरिरहेको छ तर त्यसमा सफल भइरहेको छैन । भारत र चीन युद्धको लामो इतिहास छ । पछिल्लो समय दोक्लामदेखि गलवानसम्म घम्साघम्सी भयो । गलवानमा भएको झडपको भिडियो चीनले सार्वजनिक गरेपछि चीनको मिलेटरी शक्ति कतिसम्म आधुनिक भइसकेको रहेछ भन्ने कुरा विश्व समुदायले थाहा पायो । कोरोनापछि उनीहरुको सम्बन्धमा धेरै रुकावट आयो तर केही समययता उनीहरुबीच इन्गेजमेन्ट बढेको छ र चीनले सीमाको विषय छलफल गदै जाउँ तर त्यसैका कारण दुई देशबीचको व्यापारलाई प्रभावित नबानाऔँ भन्दै आएको छ । भारतले त अहिलेसम्म चीनको सिमाना स्वीकार गरेको नै देखिँदैन । जसका कारण आफ्नो सैन्य बलको नाम नै इन्डो तिब्बतियन राखेको छ । त्यसकै प्रतिक्रियास्वरुप चीनले पनि अरुणञ्चलमा आफ्नो दाबी गर्दै आएको छ ।

भारतमा भइरहेको राजनीतिक आन्दोलनलाई कसरी हेर्नुभएको छ ? त्यसको प्रभाव छिमेकी देशहरुमा कस्तो पर्छ ?
अहिले भारतलाई दुईवटा कोणबाट हेर्नु पर्दछ । बिजेपी आफैँमा लोकतान्त्रिक पार्टी होइन । कहिल्यै त्यो पार्टीको निर्वाचन हुने र नेतृत्व छानिने भन्ने हँुदैन । त्यसैले भारतीय जनता पार्टी र नरेन्द्र मोदी कति लोकतान्त्रिक हुन् भन्ने कुरामाथि प्रश्न छ ? भाजपाको उदय नै लोकतान्त्रिक तरिकाले भएको होइन । तर भारत भने लोकतान्त्रिक देश हो । मोदीको नेतृत्वमा लोकतन्त्र कति सुरक्षित छ भन्ने कुरा गम्भीर छ । त्यसैले भारतमा लोकतन्त्र पक्षधर र विरोधीहरुबीच संघर्ष चलिरहेको छ । सय दिनमा श्रीलंका, तीस दिनमा बंगलादेश, दुई दिनमा नेपाल र चार घण्टामा भेनेजुयलामा सत्ता परिवर्तन भयो । त्यसैले अब भारतमा पनि त्यस्तै हुनसक्छ भनेर बहस हुनु स्वाभाविक छ । ककरोच जनता पार्टीले निर्वाचन प्रमुखले मतदाता नामावली समावेश गर्नेबारेमा अनियमितता गरेको आरोपमा उनको राजीनामा माग्दै सुरु भएको आन्दोलन बलियो बन्दै गएको छ । राहुल गान्धीले पनि लामो समयदेखि भाजपा सरकारविरोधी आन्दोलन गरिरहेका छन् । उनको पक्षमा पनि जनमत बन्दै गएको छ । वामपन्थी आन्दोलनबाट उदाएकी नेहा बोहोरा अहिले सरकारविरोधी आन्दोलनमा ‘आइकन’ बनिरहेकी छिन् । निकै छोटो समयमै ककरोज जनता पार्टीले आन्दोलनमा जनताको अभूतपूर्व समर्थन प्राप्त गरेको देखियो । स्वाभाविक रुपमा भारतमा हुने आन्दोलनको प्रभाव छिमेकमा पर्दछ । तर भारतले छिमेकीहरुको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दछ भन्ने कुरा पनि खण्डित भएको छ । नेपालमै भएको जेनजी आन्दोलनबारे भारतको अनविज्ञता प्रकट भयो । त्यसैले यो घटनाले छिमेकी देशहरुमा भारतको चाहानाविपरीत राजनीतिक परिवर्तनका घटना हुन्छ भन्ने प्रमाणित भयो । नेपाललगायत छिमेकी देशहरुमा भइरहेको राजनीतिक परिवर्तनमा भारतीय भूमिका कमजोर बन्दै गएको देखियो ।

सरकारको कामकारबाही र विश्व राजनीतिमा भइरहेको परिवर्तनलाई कसरी बुझ्न सकिन्छ ।
पुराना राजनीतिक दलहरूको असफलताले रास्वपाको उदय भएको हो । सरकारको काम सकारात्मक दिशामा अगाडि बढेको देखिँदैन । आफ्नाविरुद्ध लेख्ने पत्रकारलाई पक्राउ गर्ने र मुलुकमा डर, आतंकको वातावरण बनाएर शासन गर्ने देखिन्छ । सरकारसँग लोकतान्त्रिक आचरण नै देखिँदैन । रास्वपाका सभापतिकै कुरा प्रधामन्त्रीले सुनिरहेको देखिँदैन । जलविद्युत्, पर्यटन, उद्योगलगायतका मामिलामा पनि सरकारले गम्भीरतापूर्वक कार्य गरिरहेको देखिँदैन । नेपाल असंलग्न राष्ट्रका रुपमै अगाडि बढ्नु पर्दछ । चीनको बिआरआई, भारतीय लगानी र अन्य देशहरुको लगानी आकर्षित गर्दै सबैसँग सन्तुलनका आधारमा सरकार अगाडि बढ्नुपर्ने हो तर त्यस्तो भइरहेको छैन । सरकारले कूटनीतिक सन्तुलन मिलाएको देखिँदैन । सरकार पश्चिमासँग नजिक हो कि जस्तो देखिन्छ, तर पश्चिम आफैँ संकटउन्मुख छ । विश्व राजनीतिको केन्द्र हाम्रै वरिपरि घुम्दैछ । अनि, छिमेकीहरुलाई ‘इगनोर’ गरेर कहाँ पुगिन्छ ? त्यसैले छिमेकीसँग कूटनीतिक सन्तुलन मिलाएर सरकार अगाडि बढ्न आवश्यक छ । प्रधानमन्त्रीको छिट्टै भारत भ्रमण पनि हँुदैछ । भारतसँग पोखरा, भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्टमा हवाई रुट अनुमति ल्याउने गरी कूटनीतिक पहल आवश्यक छ । त्यसैगरी चीनसँग पनि बिआरआईलगायतका परियोजनामा सहकार्य गरी नेपालले लाभ लिन जरुरी छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000