भक्तपुर । गृहमन्त्री सुधन गुरुङको आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा राखेका कलाकार सर्विन बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार अपराह्न सर्विन भक्तपुरको सूर्यविनायकबाट समातिएका हुन् ।

आफूहरूलाई इन्टरनेट प्रदायक वर्ल्ड लिङ्कको कर्मचारी बताएर घरकोठामै आएका सादा पोसाकका दुईजना प्रहरीले सर्विनलाई समातेर लगेको परिवारजनले बताएका छन् । उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
वैयक्तिक गोपनियता सम्बन्धि कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले पुष्टि गरेका छन् ।बोगटीलाई नियन्त्रणमा लिएर सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।
पक्राउ परेका सर्विन जनसांस्कृतिककर्मी हुन् । कालिकोट स्थायी घर भएका उनी परिवारसहित लामोसमयदेखि भक्तपुरको सूर्यविनायकमा बस्दै आएका छन् । पूर्व जनमुक्ति सेनासमेत रहेका उनी हाल गायक तथा संगीतकारको रुपमा परिचित छन् ।
सोमबार उनले आफ्नो फेसबुकपेजमा गृहमन्त्री सुधन गुरुङकी आमा लेखेर भिडियो पोस्ट गरेका थिए ।


















