Logo
Logo

प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, आर्थिक सहकार्य र हवाई मार्ग विस्तार मुख्य एजेन्डा


0
Shares

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज भारतको दुईदिने भ्रमणमा जाँदै छन्।

दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रस्थान गर्ने प्रधानमन्त्री शाह अपराह्न ३:४५ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको छ। सामान्यतया भारत भ्रमणमा आउने अन्य देशका प्रधानमन्त्रीहरूलाई विमानस्थलमा राज्यमन्त्रीहरूले नै स्वागत गर्ने परम्परा रहँदै आएको छ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताज मानसिंह (ताज महल) जानेछन्। साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। भ्रमणलाई लक्षित गर्दै नयाँ दिल्लीमा स्वागतको तयारी गरिएको छ भने पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा फहराइएका छन्।

आइतबार साँझ नै नेपाल र भारतका व्यवसायीहरूको विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित नेपाल तथा भारतका उद्योगी–व्यवसायीहरूबीच व्यावसायिक सहकार्य र सहयोग आदानप्रदान हुनेछ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ भने प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

दूतावासका अनुसार भ्रमणका क्रममा केही नयाँ परियोजनाको उद्घाटन, केहीको शिलान्यास तथा विभिन्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गर्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका अनुसार एक दर्जनभन्दा बढी परियोजनाको शिलान्यास तथा उद्घाटन हुनेछ। भ्रमणमा दुई देशबीचको आर्थिक सहकार्य, हवाई सम्पर्क विस्तार तथा विकास आयोजनासम्बन्धी विभिन्न सम्झौता र समझदारीलाई मुख्य प्राथमिकतामा राखिएको छ।

द्विपक्षीय वार्तामा प्रस्तावित आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका एक अधिकारीले भने, ‘आर्थिक प्याकेज, हवाई सम्पर्क र द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफलको तयारी छ। अझै सबै विषय टुङ्गिएका छैनन्, भोलि बिहानसम्म सबै विषय टुङ्ग्याउने गरी काम गरिरहेका छौँ।’

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अयोध्या–जनकपुर सिधा रेलमार्ग, काभ्रेको पनौतीमा निर्माण गरिएको नेपाल प्रहरी एकेडेमीको नयाँ भवन, दार्चुलामा पुल र भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी)को उद्घाटन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। यस्तै, अमलेखगन्जदेखि चितवनसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास तथा सूचना प्रविधि, बन्दरगाहलगायतका नयाँ क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि तय भएको छ।

प्रधानमन्त्री शाहले भ्रमणमा आर्थिक पक्षलाई विशेष जोड दिनेछन्। त्यसमध्ये पनि हवाई सम्पर्क विस्तारलाई नेपालले मुख्य प्राथमिकता दिएको छ। भारतीय आकाश हुँदै भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन नेपालले आग्रह गर्दै आए पनि यसबारे अन्तिम टुङ्गो लागिसकेको छैन। विगतमा भारतले सुरक्षा संवेदनशीलता देखाउँदै थप हवाई मार्ग दिन आनाकानी गरे पनि यस पटक कम्तीमा एउटा रुट दिने आश्वासन प्राप्त भएको अधिकारीहरूको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार भारत महेन्द्रनगरबाट हवाई प्रवेश मार्ग उपलब्ध गराउने प्रस्तावमा बढी सकारात्मक देखिएको छ र त्यसबारे प्राविधिक पक्षमा छलफल जारी छ। महेन्द्रनगरको हवाई मार्ग प्रयोग गर्दा विमान भारतीय आकाशमा तुलनात्मक रूपमा बढी उचाइबाट प्रवेश गर्नुपर्ने हुन्छ। भैरहवाको प्रस्तावित मार्ग कम उचाइबाट प्रवेश गर्न मिल्ने भएकाले सामान्य उडान तथा अवतरणका लागि उपयुक्त हुने तर्क गर्दै नेपालले भैरहवा मार्गमै सहमतिका लागि आग्रह गरिरहेको छ।

पश्चिम बंगालस्थित बागडोगराका लागि भारतले नेपाली हवाई क्षेत्रको केही भाग प्रयोग गर्ने भएकाले त्यस विषयमा भारत सकारात्मक रहेको बताइएको छ। महेन्द्रनगर, जनकपुर र भैरहवाबाट फरक–फरक उचाइमा हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारत लचिलो देखिए पनि सम्झौतामा हस्ताक्षर हुने विषय पूर्ण रूपमा निश्चित भइसकेको छैन।

उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने तालिका छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000