
काठमाडौं । यूएईलाई पराजित गर्दै एसिया कप राइजिङ स्टार २०२६ मा नेपालले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको समुह चरणको दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो।
यूएईले दिएको १ सय २२ रनको मध्यम लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ५६ बलमा ६ चौका र १ छक्का हाने।
मयन यादवले २७ रन थपे। बसिर अहमद १८ र पवन सर्राफ ९ रनमा अविजित रहे। अर्जुन कुमाल ५ रनमा आउट हुँदा देव खनाल बिना रन पेभेलियन फर्के। युएईका मुहम्मद मोहसिनले २ विकेट लिए। उद्दिस सुरी र अंश टन्डनले समान एक विकेट लिए।
त्यसअघि कतारको युनिर्भसिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १ सय २१ रन बनाउँदा अलआउट भयो। यूएईका मुहम्मद सहादद्दादले सर्वाधिक ४० र हरप्रित सिंहले ३२ रन बनाए। नोरुल्लाह अयोबीले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
यूएईलाई कम स्कोरमा रोक्न नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। नन्दन यादव, रासिद खान र ललित राजवंशीले समान एक विकेट आफ्नो नाममा गरे। नेपाल पहिलो खेलमा भारतसँग ३ सय ६ रनले पराजित भएको थियो। नेपालले अब तेस्रो खेलमा मंगलबार पाकिस्तान एसँग खेल्नेछ।


















