
सियोल । रूस र दक्षिण कोरियाबीच सैन्य तनाव पुनः बढेको छ । दक्षिण कोरियाको हवाई सुरक्षा पहिचान क्षेत्रमा (काडिज) रुसी सैन्य विमानहरू प्रवेश गरेपछि दक्षिण कोरियाले रूसका सैन्य सहचारीलाई बोलाउने तयारी गरेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार रुसी सैन्य विमानहरू आफ्नो हवाई सुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेपछि कूटनीतिक रूपमा आपत्ति जनाउन सैन्य सहचारीलाई बोलाउन लागिएको हो ।
दक्षिण कोरियाली संयुक्त सेना प्रमुख (जेसीएस) का अनुसार रुसी विमानहरू दक्षिण कोरियाको हवाई क्षेत्रनजिक पुगेपछि सियोलले आफ्ना लडाकु विमानहरू परिचालन गरेको थियो । त्यसपछि रुसी विमानहरू उक्त क्षेत्रबाट बाहिरिएका थिए । यद्यपि, घटनामा कति वटा र कस्ता प्रकारका विमान सहभागी थिए भन्नेबारे दक्षिण कोरियाले तत्काल खुलाएको छैन ।
उल्टुङ टापुमा तीन मिनेटसम्म त्रास
रुसी विमानको प्रवेशसँगै दक्षिण कोरियाको पूर्वी तटमा रहेको उल्टुङ टापुमा पनि केही समय तनावको अवस्था सिर्जना भएको थियो । विमान सम्भावित जोखिमयुक्त क्षेत्रमा प्रवेश गरेको सूचना पाएपछि स्थानीय प्रशासनले छोटो समयका लागि आपत्कालीन सुरक्षित स्थानमा जान सूचना जारी गरेको थियो ।
रोयटर्सका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर ५२ मिनेटमा जारी गरिएको उक्त सूचना तीन मिनेटपछि नै हटाइएको थियो । स्थानीय बासिन्दालाई भूमिगत संरचना वा सुरक्षित भवनभित्र आश्रय लिन निर्देशन दिइएको थियो ।
प्रारम्भिक सूचनामा विदेशी विमानले दक्षिण कोरियाको हवाई क्षेत्र उल्लंघन गरेको उल्लेख गरिएको थियो । तर, पछि संयुक्त सेना प्रमुखले विमानहरू राष्ट्रिय हवाई क्षेत्रमा प्रवेश नगरेको, बरु जोखिमयुक्त क्षेत्रमा प्रवेश गरेर बाहिरिएको स्पष्ट पारेको थियो ।
यद्यपि, उक्त चेतावनी रुसी विमानको प्रवेशसँग सम्बन्धित थियो वा थिएन भन्नेबारे दक्षिण कोरियाली सेनाले स्पष्ट पारेको छैन ।
रुसी विमानहरू फर्किनुअघि सम्भावित आपत्कालीन अवस्थाको सामना गर्न दक्षिण कोरियाले लडाकु विमानहरू परिचालन गरेको थियो । तर, परिचालित विमानको संख्या र प्रकारबारे पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
करिब नौ हजार जनसंख्या रहेको उल्ळुङ टापुमा यस घटनाका कारण कुनै दुर्घटना वा ठूलो क्षति भएको खबर छैन ।
यसअघि पनि उत्तर कोरियासँगको बढ्दो सैन्य तनावका क्रममा उक्त टापुमा आपत्कालीन चेतावनी जारी गरिएको थियो । सन् २०२२ नोभेम्बरमा उत्तर कोरियाले समुद्रमा २० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये एउटा क्षेप्यास्त्र उल्ळुङ टापुतर्फ लक्षित भएको आशंकापछि त्यहाँ हवाई आक्रमणको साइरन बजाइएको थियो । त्यसबेला स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।


















