Logo
Logo

ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ चालक कारबाहीमा


0
Shares

file photo

काठमाडौं । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी र चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१ जना छन् । त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १२६ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना र ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २० जना कारबाहीमा परेका छन् ।

यसैगरी निषेधित क्षेत्रमा हर्न बजाउने १८ जना, सवारीसाधनको अवस्था ठीक नभएका २२ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ४९० जनालाई पनि कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । कारबाहीमा परेका चालकलाई नियमअनुसार जरिवानालगायतका कारबाही गरिएको प्रहरीले जनाएको छ ।

सडक अनुशासन कायम राख्न ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित चेकजाँच र निगरानी गर्दै आएको छ । प्रहरीले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरेको छ ।

सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्रीसहित सबै सडक प्रयोगकर्ताको सुरक्षासँग जोडिएको विषय भएकाले जिम्मेवार र सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले अनुरोध गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000