
वासिङ्टन डीसी । अमेरिकाको आयोवा राज्यमा सेनाले करिब ६० वर्ष पुरानो पाँच टन विष्फोटक पदार्थ नियन्त्रित विस्फोट गराएर नष्ट गरेको छ । मिडलटाउनस्थित सैन्य गोलाबारुद कारखानाका दुईवटा बंकरमा राखिएका विष्फोटक पदार्थ बुधबार राति भारतीय समयअनुसार ८ः३० बजे विस्फोट गराइएको हो ।
विस्फोटपछि आकाशमा सेतो र खैरो रङको धुवाँको ठूलो मुस्लो देखिएको थियो । उक्त धुवाँ हावाको बहावसँगै १६० किलोमिटर टाढासम्म फैलिन सक्ने अनुमान गरिएको छ । विषाक्त रासायनिक कण हावामा फैलिन सक्ने आशंकाले विस्फोट हुनुअघि नै आसपासका बस्तीमा त्रास फैलिएको थियो ।
सेनाले सैन्य कारखानाको दक्षिणपश्चिमतर्फ करिब आठ किलोमिटर क्षेत्रभित्र बसोबास गर्ने नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सर्न तयार रहन आग्रह गरेको थियो ।
दुई बंकरमा थिए विष्फोटक पदार्थका ६८ ड्रम
आयोवाको मिडलटाउनस्थित सैन्य गोलाबारुद कारखानामा राखिएका ६८ वटा ड्रममा उक्त विष्फोटक पदार्थ भण्डारण गरिएको थियो । लेड एजाइड नामक यो रसायन बम तथा अन्य सैन्य हतियारमा मुख्य विष्फोट गराउन प्रयोग गरिन्छ ।
सेनाले सन् २०२६ को मार्चमा गरेको निरीक्षणका क्रममा रसायन राखिएका ड्रमहरू बिग्रिएको पत्ता लगाएको थियो । ड्रमको बाहिरी भाग र बिर्कोमा सेता क्रिस्टल जमेको अवस्थामा भेटिएका थिए । ती क्रिस्टल र रसायन अत्यन्त संवेदनशील अवस्थामा पुगेकाले ड्रम हल्लाउँदा, खोल्दा वा जमेको पदार्थ छुँदासमेत विष्फोट हुन सक्ने जोखिम थियो ।
त्यसैले सेनाले ड्रम खोलेर रसायन बाहिर निकाल्नुको सट्टा बंकरभित्रै नियन्त्रित विष्फोट गराएर नष्ट गर्ने निर्णय गरेको थियो ।
विस्फोटअघि हजारौँ नागरिकलाई सतर्कता
विस्फोटअघि सेनाले मोबाइल फोनमार्फत नागरिकलाई सतर्कता सन्देश पठाएको थियो । सैन्य प्रतिष्ठानबाट पाँच माइल अर्थात् करिब आठ किलोमिटर दूरीभित्र बसोबास गर्ने केही नागरिकलाई आवश्यक परे अन्यत्र सार्ने तयारी गरिएको थियो ।
त्यस्तै, २० माइल अर्थात् करिब ३२ किलोमिटर क्षेत्रभित्रका बासिन्दालाई घरभित्रै बस्न, झ्यालढोका बन्द राख्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिएको थियो । विशेषगरी बालबालिका, गर्भवती महिला तथा मुटु, मिर्गौला र डिमेन्सियासम्बन्धी समस्या भएका व्यक्तिलाई थप सावधानी अपनाउन भनिएको थियो ।
सेनाको अनुमानअनुसार विष्फोटबाट निस्किएको धुलो हावाको बहावसँगै दक्षिणपश्चिम दिशातर्फ फैलिन सक्ने र उत्तरी मिसौरीसम्म पुग्न सक्ने सम्भावना थियो । यद्यपि, धुलो कति टाढासम्म पुग्छ भन्ने कुरा हावाको दिशा र मौसममा निर्भर रहने बताइएको थियो ।
सीसाको धुलोले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने
लेड एजाइडमा रहेको सीसा मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छ । विष्फोटपछि फैलिने धुलो श्वासप्रश्वासका माध्यमबाट शरीरभित्र प्रवेश गर्न सक्छ । त्यस्तै, जमिन वा अन्य सतहमा बसेको धुलो छुँदा वा अनजानमा निल्दा पनि शरीरमा सीसा प्रवेश गर्न सक्छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार बालबालिकाको शरीरमा सीसा प्रवेश गर्दा शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ । यसले सिकाइ, सुनाइ, बोलाइ र व्यवहारसम्बन्धी समस्या निम्त्याउन सक्छ ।
इलिनोइस राज्यका स्वास्थ्य विभागका निर्देशक डा. समीर वोहराले शरीरमा सीसाको कुनै पनि मात्रा सुरक्षित नमानिने बताएका छन् ।
रसायन नष्ट गर्ने अन्य विकल्प असफल
सेनाले यसअघि उक्त रसायन अन्य विधिबाट नष्ट गर्ने प्रयास गरेको थियो । यसका लागि निजी कम्पनीलाई जिम्मेवारीसमेत दिइएको थियो । तर, सुरक्षासम्बन्धी जोखिम देखिएपछि करिब दुई महिनामै उक्त प्रक्रिया रोकिएको थियो ।
अधिकारीहरूका अनुसार ड्रम खोल्नु वा अन्यत्र स्थानान्तरण गर्नु दुवै जोखिमपूर्ण थिए । त्यसैले नियन्त्रित विष्फोटलाई उपलब्ध विकल्पमध्ये कम जोखिमयुक्त उपायका रूपमा अघि सारिएको थियो ।
सेनाका अधिकारी कर्णेल आरोन टेलरले ड्रमका बिर्कासमेत खोल्न नसकिने अवस्था रहेको बताएका थिए ।
तीन सयभन्दा बढी कर्मचारी निगरानीमा परिचालन
विष्फोटबाट हुन सक्ने वातावरणीय प्रभावको निगरानी गर्न अमेरिकी वातावरण संरक्षण निकाय (ईपीए) का तीन सयभन्दा बढी कर्मचारी परिचालन गरिएको थियो । विष्फोटअघि माटो, पानी, हावा र धुलोका एक हजार दुई सयभन्दा बढी नमुना संकलन गरिएको थियो ।
विष्फोटपछि पनि वातावरणीय प्रदूषणको अवस्था पत्ता लगाउन नमुना संकलन गर्ने योजना बनाइएको छ । परीक्षणको नतिजाका आधारमा आवश्यक परे प्रभावित क्षेत्रको सफाइ गरिने अधिकारीहरूले बताएका छन् ।
अमेरिकी विपद् व्यवस्थापन निकाय फेमालाई प्रभावित क्षेत्रका नागरिकको सहयोग तथा व्यवस्थापनको जिम्मेवारी दिइएको थियो । आवश्यक परे नागरिकलाई सुरक्षित स्थानमा सार्ने, यातायात, आवास र खानाको व्यवस्था गर्ने तयारी गरिएको थियो ।
आयोवाकी गभर्नर किम रेनोल्ड्सले तीनवटा काउन्टीमा आपत्काल घोषणा गरेकी थिइन् । नागरिकको सुरक्षा र उद्धारमा सहयोग पुर्याउन राज्यको नेसनल गार्डका एक सय सैनिकसमेत परिचालन गर्ने तयारी गरिएको थियो ।
अदालतबाट अनुमति पाएपछि सेनाले गर्यो विष्फोट
विष्फोट गर्ने योजना यसअघि शुक्रबारका लागि तय गरिएको थियो । तर, वातावरणीय जोखिम र कानुनी चुनौतीका कारण प्रक्रिया रोकिएको थियो ।
वातावरण संरक्षणसम्बन्धी संस्थाहरूले विष्फोटबाट निस्किने विषाक्त धुलोले हावा र पानी प्रदूषित गर्न सक्ने आशंका व्यक्त गर्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अदालतको निर्णय र राज्यका नवनिर्वाचित गभर्नर रोब स्यान्डको स्वीकृति नआएसम्म विष्फोटको तयारी रोक्न सेनालाई निर्देशन दिएका थिए ।
तर, सोमबार अमेरिकी पुनरावेदन अदालतका तीन न्यायाधीशको इजलासले सेनालाई विष्फोटको तयारी अघि बढाउन अनुमति दिएको थियो । त्यसपछि सेनाले नियन्त्रित विष्फोटमार्फत दशकौँ पुरानो विष्फोटक पदार्थ नष्ट गरेको हो ।
आयोवाका नवनिर्वाचित सिनेटर जोस ट्युरेकले विष्फोटक पदार्थलाई यस्तो जोखिमपूर्ण अवस्थामा पुग्न दिन नहुने बताएका छन् । उनले यस घटनामा सेना र प्रशासनको जिम्मेवारी तथा जवाफदेहिता निर्धारण गर्नुपर्ने मागसमेत गरेका छन् ।


















