
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले अबदेखि आइतबार पनि गाउँपालिकाअन्तर्गतका सबै कार्यालयमा बिदा नगर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले आजदेखि आइतबार पनि सबै सरकारी कार्यालय खुला हुने जानकारी दिए । भौगोलिक बनावट र सवारीसाधनमा पेट्रोलियम पदार्थको प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा कम हुने भएकाले इन्धन बचतका लागि सातामा दुई दिन बिदा दिनु सान्दर्भिक नभएको भट्टराईको भनाइ छ ।
सरकारले गत चैत २३ गतेदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा लागु गरेको छ । अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको आपूर्ति र मूल्यमा देखिएको असहजता तथा इन्धन खपत व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
तर खुम्बु पासाङल्हामु गाउँपालिकाले तीन कारण देखाउँदै सातामा शनिबार मात्र बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले कारणमा भौगोलिक अवस्था, इन्धन खपत, स्वास्थ्य सेवाको संवेदनशीलता र नागरिकलाई सहज रूपमा सेवा प्रवाह उल्लेख गरेको छ ।
त्यस्तै आइतबार स्वास्थ्य संस्थामा बिदा दिँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा समेत दिन कठिन देखिएको गाउँपालिकाले जनाएको छ ।



















