Logo
Logo

रास्वपा कार्यालयमा पत्रकार महासङ्घको धर्ना


0
Shares

काठमाडौं । प्रेस काउन्सिल अध्यादेश खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासङ्घले आइतबार एक घण्टा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । महासङ्घका अध्यक्ष निर्मला शर्मा लगायतका पदाधिकारी र पत्रकारहरूले बिहान ११ बजेबाट प्लेकार्ड सहित रास्वपाको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

The current image has no alternative text. The file name is: patrakar.jpg

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय राखी प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत हस्तक्षेप भइरहेको भन्दै महासङ्घले आपत्ति जनाएको छ ।

महासङ्घले गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लङ्घन भएको र लोकतन्त्रको रक्षाका लागि विज्ञापनसम्बन्धी विभेदपूर्ण नीति अपनाइएको आरोप लगाएको छ ।

महासङ्घले पहिलो चरणको आन्दोलन देशव्यापी रूपमा सफलतापूर्वक सम्पन्न भए पनि सरकारले मागप्रति बेवास्ता गरेको जनाएको छ । सरकारलाई थप दबाब दिन तथा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई मागमा सहमत गराउन दोस्रो चरणको आन्दोलन घोषणा गरिएको महासङ्घले उल्लेख गरेको छ ।

मङ्सिर १४ गते नेपाली कांग्रेस, १५ गते नेकपा एमाले, १६ गते नेपाली कम्युनिस्ट पार्टी, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा पनि एक घण्टा धर्ना दिने महासङ्घको कार्यक्रम छ ।

महासङ्घले वैशाख २० गते काठमाडौं उपत्यकाका माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000