
काठमाडौं । नेपाली कांग्रेसले जिल्ला अधिवेशन दुई चरणमा गर्ने भएको छ । पार्टी सभापति गगन थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गरिनेछ । सभापति थापाले हिमपातको सम्भावना रहेका हिमाली जिल्लामा पहिलो चरणमा अधिवेशन गर्ने र अन्य जिल्लामा दोस्रो चरणमा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको बताए ।
उनका अनुसार प्रदेश अधिवेशन भने पुस १२ देखि १८ गतेभित्र गर्ने तयारी छ । जिल्ला अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाइनेछ ।
यसअघि कांग्रेसले गत असोज १६ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भए पनि जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी छ।
महाधिवेशनअघि पार्टीले वडा, पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसकेको थियो । अब जिल्ला र प्रदेश अधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचनालाई पूर्णता दिने कांग्रेसको तयारी छ ।


















