Logo
Logo

शिक्षक महासंघले दियो निर्णायक आन्दोलनको चेतावनी, ३ वर्षअघि पारेको थियो देशभर विद्यालय ठप्प


0
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान गर्न सरकारसमक्ष सातबुँदे माग अघि सारेको छ। विगतमा नेपाल सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले सरकार र शिक्षा र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको हो।

महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका पेसागत समस्या समाधान र विगतमा भएका सहमति कार्यान्वयनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

महासंघले आफ्ना मागप्रति सरकार उदासीन रहे निर्णायक आन्दोलनमा उत्रिने स्पष्ट चेतावनी दिएको छ। यसअघि २०८० असोजमा यीनै माग राख्दै एक साताभन्दा लामो समयसम्म महासंघले सरकारी तथा सामुदायिक विद्यालयहरु ठप्प पारेको थियो ।

महासंघले जारी गरेको विज्ञप्तिमा सहमति कार्यान्वयनमा भइरहेको ढिलाइका कारण शिक्षक तथा विद्यालय कर्मचारी थप पीडित बनेको उल्लेख छ। शिक्षक आन्दोलनपछि भएका सहमतिअनुसार सार्वजनिक शिक्षाको सुधार तथा शिक्षक–कर्मचारीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको महासंघको आरोप छ।

विशाल जनमतसहित गठन भएको वर्तमान सरकारले समेत शिक्षक तथा विद्यालय कर्मचारीका मागप्रति संवेदनशीलता नदेखाएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ। मागहरू निरन्तर बेवास्ता गरिए कडा तथा निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

महासंघले सरकारसमक्ष शिक्षकको अवकाश सुविधा, अस्थायी शिक्षकको निवृत्तिभरण, दुर्गम भत्ता, विद्यालय कर्मचारी तथा इसिडी शिक्षकको दरबन्दी र तलबभत्ता, विद्यालय शिक्षा ऐन तथा शिक्षा नियमावली संशोधनलगायतका विषय समेटेर सातबुँदे माग प्रस्तुत गरेको छ।

यी हुन् महासंघका सातबुँदे माग

१. अवकाश तथा निवृत्तिभरणको व्यवस्था: नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघिसम्म स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण उपलब्ध गराउनुपर्ने र ऐन जारी भएपछि स्थायी हुने शिक्षकका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने व्यवस्था ऐनमा समेट्नुपर्ने। साथै, सोहीअनुसार निवृत्तिभरण ऐन संशोधन गर्नुपर्ने।

२. अस्थायी शिक्षकलाई पेन्सन सुविधा: आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका तर सेवा अवधि नपुगेका कारण निवृत्तिभरण पाउन नसकेका शिक्षकलाई पनि निवृत्तिभरणको सुविधा उपलब्ध गराउनुपर्ने।

३. दुर्गम तथा स्थानीय भत्ता: दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई दुर्गम तथा स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने। यसअघि खाइसकेको भत्ता महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउँदै फिर्ता गर्न भनेको विषयमा आवश्यक व्यवस्था गरी शिक्षकलाई न्याय दिनुपर्ने।

४. विद्यालय कर्मचारी र इसिडी शिक्षकको दरबन्दी: विद्यालय कर्मचारी र इसिडी शिक्षकका लागि दरबन्दी सिर्जना गरी नेपाल सरकारबाटै तलबभत्ता उपलब्ध गराउनुपर्ने।

५. विद्यालय शिक्षा ऐन जारी: नेपाल शिक्षक महासंघसँग संस्थागत सहकार्य र संवाद गरी विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुपर्ने। विगतमा भएका सबै सहमति समेटेर विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने।

६. ५४ बुँदे माग सम्बोधन: नेपाल शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद्बाट पारित भई पेस भएका ५४ सूत्रीय मागलाई अविलम्ब सम्बोधन गर्नुपर्ने।

७. शिक्षा नियमावली संशोधन: नेपाल शिक्षक महासंघले शिक्षा नियमावली (दसौँ संशोधन) को नियम १६७ उपनियम ३ अनुसार मन्त्रालयमा पेस गरेको विधानलाई अविलम्ब स्वीकृत गर्नुपर्ने।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000