काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मिडियामा सूचना लिक नगर्न मातहतका प्रहरीलाई मुख्यालयको चेतावनी दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा सार्वजनिक गर्ने वा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत चुहावट गर्ने गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले फौजदारी अपराध अनुसन्धानका क्रममा संकलित गोप्य सूचना तथा विवरणहरू अनधिकृत रूपमा बाहिरिएको विषयप्रति चिन्ता व्यक्त गरेको हो ।
विज्ञप्तिमा यस्ता गतिविधिले अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता तथा नेपाल प्रहरीको संगठनात्मक गरिमामा आँच पुग्नुका साथै अनुसन्धानमा संलग्न व्यक्तिहरूको व्यक्तिगत गोपनीयतामा समेत असर पर्ने उल्लेख गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन तथा प्रहरी आचरणविपरीत रहेको जनाएको छ ।
प्रहरी नियमावली, २०७१ को नियम ९१ (आचरणसम्बन्धी व्यवस्था) उल्लंघनको कसुरमा नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २९३ (१), (४) र (५) बमोजिम गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यससम्बन्धी कार्यमा संलग्न व्यक्तिमाथि कारबाही हुन सक्ने चेतावनी दिइएको छ ।
नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न तथा त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन निर्देशन दिइएको छ ।
साथै, प्रहरी कर्मचारीलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन तथा संगठनात्मक जिम्मेवारीप्रति सचेत र जिम्मेवार रहन आग्रह गरिएको छ ।
गैरकानुनी तथा अनुशासनविपरीत गतिविधिमा प्रहरी कर्मचारी संलग्न रहेको वा त्यस्ता गतिविधिलाई प्रोत्साहन, सहयोग अथवा सहजीकरण गरेको पाइएमा आवश्यक छानबिन गरी विभागीय तथा कानुनी कारबाही गरिने प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ ।
प्रहरी प्रधान कार्यालयले अनुसन्धानसँग सम्बन्धित गोप्य सामग्रीको अनधिकृत चुहावट रोक्न र प्रहरी संगठनको अनुशासन तथा गरिमा कायम राख्न मातहतका प्रहरी कर्मचारीलाई सचेत गराएको हो ।


















