Logo
Logo

इनमको अर्को खुलासाः आँखामा पट्टी बाँधेर बयान दिन धम्की, नबोलेको कुरा पनि पढ्न लगाइयो ! (भिडियो)


0
Shares

काठमाडौं । बिचौलिया इनम सापकोटा पक्राउ परेको दुई महिना पुगेको छ । गत असोज १४ गते नयाँदिल्ली जान लागेका इनमलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनको पक्राउसँगै नेपाली राजनीति, न्यायालय र प्रहरी प्रशासनभित्रै तरंग पैदा भयो । किनकि, इनमको सम्पर्क पूर्वप्रधानन्यायाधीशदेखि राजनीतिक दलका नेता, व्यवसायी र सुरक्षा निकायका उच्च अधिकारीसम्म रहेको विवरण सार्वजनिक हुन थाल्यो । पक्राउ परेपछि प्रहरीले इनमको मोबाइल, बैंकिङ कारोबार र विभिन्न व्यक्तिसँग भएका संवादमाथि अनुसन्धान सुरु ग¥यो । यही अनुसन्धानका क्रममा सार्वजनिक भएको एउटा अडियोले नेपाली कांग्रेसभित्रै हलचल ल्यायो । कांग्रेसको आधिकारिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च भएको आशयको संवाद सार्वजनिक भएपछि सभापति गगन थापादेखि पार्टीका अन्य नेतासम्मले जवाफ दिनुपर्ने अवस्था आयो ।

तर, अहिले यही प्रकरणले अर्को मोड लिएको छ । अनुसन्धानको घेरामा रहेका इनमले प्रहरीमाथि नै गम्भीर आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । इनमकी श्रीमती कविता पाण्डेमार्फत आयोगमा दर्ता गराइएको उजुरीमा आफूलाई पक्राउ गरेपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा राखिएको र धम्की दिएर प्रभावशाली व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख छ । इनमको दाबीअनुसार, आफूलाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ र छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध बयान दिन भनिएको थियो ।

आफूले उनीहरूबारे बयान दिन नमानेपछि परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको इनमको आरोप छ । आफूले नबोलेका कुरा पढ्न लगाएर अडियो रेकर्ड गरिएको र त्यसलाई काटछाँट गरेर सार्वजनिक गरिएको उनको दाबी छ । अर्थात्, जुन अडियोलाई आधार बनाएर राजनीतिक र न्यायिक वृत्तमा प्रश्न उठिरहेको थियो, त्यही अडियो आफूलाई दबाब दिएर तयार पारिएको इनमको भनाइ छ ।

इनमको उजुरी यतिमै सीमित छैन । पक्राउ परेपछि प्रहरीले बरामद गरेका आफ्ना मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिको हातमा पुगेको र त्यसमा छेडछाड गरिएको उनको आरोप छ । मोबाइलमा नभएका सामग्री सिर्जना गरेर आफूलाई फसाउन खोजिएको र एआईबाट बनाइएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको उनको दाबी छ । यदी यस्तो हो भने इनमको मोबाइल कसको नियन्त्रणमा थियो ? कसले चलायो ? त्यसमा रहेका सामग्री कसरी सुरक्षित राखिए ? इनमको मोबाइलबारे उठेको प्रश्न यतिमै रोकिँदैन । अनुसन्धानका क्रममा बरामद भएका उनका दुईवटा मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घरमा राखिएको थियो । सेतोपाटीले प्रकाशित समाचार अनुसार मोबाइलको लोकेसन ट्र्याक गर्दा बेनको ललितपुरस्थित ज्वागल निवासमा रहेको देखिएको थियो । पछि गरिएको फरेन्सिक परीक्षणमा मोबाइलबाट ह्वाट्सएप र फेसबुक चलाइएको, केही सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश डिलेट गरिएको थियो ।

यसले थप गम्भीर प्रश्न खडा गरेको छ । अनुसन्धानका लागि प्रहरीले बरामद गरेको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरसम्म कसरी पुग्यो ? फरेन्सिक परीक्षण हुनुअघि मोबाइलमा रहेका प्रमाण मेटाइए कि मेटाइएनन् ? मेटिएका भनिएका सन्देश र विवरण के थिए ? यी प्रश्नको जवाफ अझै स्पष्ट हुन सकेको छैन । इनमको मोबाइल कुमार बेनको घरमा पुगेको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहसहित सचिवालयका केही व्यक्तिले भने यसलाई सामाजिक सञ्जालमा मजाकको विषय बनाए । अनुसन्धान र प्रमाणको सुरक्षासँग जोडिएको गम्भीर विषयलाई प्रधानमन्त्रीकै सचिवालयका व्यक्तिहरूले ठट्टाका रूपमा लिएपछि उनीहरूको भूमिकामाथि पनि प्रश्न उठ्यो । यही कारण यो प्रकरणमा मोबाइल कसरी र किन त्यहाँ पुग्यो भन्ने प्रश्नसँगै त्यसलाई मजाक बनाउनेहरूको व्यवहारले पनि आलोचना खेप्नुपरेको छ ।

तर, इनम पक्राउ पर्नुको पृष्ठभूमि पनि कम विवादास्पद छैन । प्रहरीको अनुसन्धान पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइलमा भेटिएका संवादबाट अघि बढेको थियो । जबरा र इनमबीच पटक–पटक संवाद भएको देखिएपछि प्रहरीले इनमको खोजी गरेको थियो । अनुसन्धानका क्रममा इनमको मोबाइलमा प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारी, न्यायाधीश, राजनीतिज्ञ, व्यवसायी र विभिन्न मुद्दा खेपिरहेका व्यक्तिहरूसँगका संवाद भेटिएको प्रहरीको दाबी छ ।

इनममाथि अदालतमा विचाराधीन मुद्दा मिलाइदिने, प्रहरी प्रशासनमा सरुवा तथा बढुवाका काम प्रभावित पार्ने र प्रभावशाली व्यक्तिहरूबीच सम्पर्क गराउने नाममा रकमको कारोबार गरेको आशंकामा अनुसन्धान भइरहेको छ । यही प्रकरणमा प्रहरीले लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई समेत पक्राउ गरेको थियो ।

यही अनुसन्धानका क्रममा बाहिरिएको अर्को विषय हो– १८ करोड रुपैयाँको भनिएको लेनदेन । सार्वजनिक अडियोमा कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिलाउन १८ करोड रुपैयाँ खर्च भएको आशयको संवाद सुनिन्छ । निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म प्रभाव पार्न रकमको व्यवस्था गरिएको र त्यसको प्रबन्ध पूर्वप्रधानन्यायाधीश जबराबाट भएको भन्ने आशयका कुरासमेत अडियोमा रहेको बताइएको छ । तर, अडियोको रेकर्डिङ कहाँ र कसरी भयो, त्यसमा सुनिएका आवाज कसका हुन् र भनिएको रकम वास्तवमै कारोबार भएको थियो कि थिएन भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

अडियो सार्वजनिक भएपछि कांग्रेस सभापति गगन थापाले आरोप अस्वीकार गर्दै आएका छन् । पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा आफू वा पार्टीका तर्फबाट कुनै आर्थिक लेनदेन नभएको उनको दाबी छ । यता, सार्वजनिक अडियोको प्रसंगले देउवा पक्षलाई भने केही राहत मिलेको छ । पूर्वसभापति शेरबहादुर देउवाले अडियोको प्रसंग उठाउँदै १८ करोडमा पार्टी किनिएको कुरा स्पष्ट भएको टिप्पणी गरेका थिए ।

यता, कांग्रेसले भने यो प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आएको छ । सरकार, प्रहरी प्रशासन र उच्चपदस्थ व्यक्तिहरूकै नाम जोडिएको घटनामा सरकारी निकायबाट मात्रै हुने अनुसन्धान निष्पक्ष हुन्छ कि हुँदैन भन्ने प्रश्न कांग्रेस नेताहरूले उठाएका छन् ।

प्रहरीको अनुसन्धानमा इनमको बैंकिङ कारोबार पनि महत्त्वपूर्ण आधार बनेको छ । पछिल्लो एक वर्षमा उनको एउटा बैंक खातामा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको देखिएको छ । त्यसमध्ये कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठको नामबाट एक करोड ४२ लाख ५० हजार रुपैयाँ जम्मा भएको बताइएको छ । यही कारोबारको विवरण बाहिरिएपछि प्रहरीले महेश श्रेष्ठलाई पक्राउ गरेको थियो । जनमैत्री फाउन्डेसनबाट समेत इनमको खातामा २० लाख रुपैयाँ गएको विवरण अनुसन्धानका क्रममा फेला परेको बताइएको छ ।

अहिले यो प्रकरणमा दुईवटा विषय एकैसाथ अघि बढेका छन् । पहिलो, इनमले प्रभावशाली व्यक्तिहरूसँगको सम्पर्क र बैंकिङ कारोबारमार्फत बिचौलियाको भूमिका खेलेका थिए कि थिएनन् भन्ने अनुसन्धान । इनम दोषी हुन् भने प्रमाणका आधारमा कानुनी कारबाही हुनुपर्छ । तर, अनुसन्धानका नाममा उनलाई यातना दिइएको, धम्की दिइएको वा प्रमाणमा छेडछाड गरिएको हो भने त्यसको पनि छानबिन हुनुपर्छ । प्रहरीमाथि लागेको आरोपलाई बेवास्ता गर्न मिल्दैन । तर, इनमको उजुरीलाई मात्रै आधार बनाएर प्रहरीलाई दोषी ठहर गर्न पनि मिल्दैन ।

अन्ततः यो प्रकरण चारवटा महत्त्वपूर्ण प्रश्नमा आएर अडिएको छ । १८ करोड रुपैयाँको भनिएको लेनदेन वास्तवमै भएको हो कि होइन ? इनमको मोबाइल र अडियोमा भेटिएका सामग्री कति सत्य हुन् ? प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरमा इनमको मोबाइल कसरी पुग्यो ? अनि प्रहरीमाथि लगाइएको दबाब र दुव्र्यवहारको आरोपमा कति सत्यता छ ? यी प्रश्नको जवाफ राजनीतिक आरोप–प्रत्यारोपले होइन, निष्पक्ष अनुसन्धान र ठोस प्रमाणले दिनुपर्छ । किनकि, यो प्रकरणमा इनमको मात्रै होइन, प्रहरी प्रशासन, न्यायालय, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको सचिवालयको विश्वसनीयता पनि जोडिएको छ । अझ, अनुसन्धान गर्ने निकाय र प्रश्नको घेरामा परेका व्यक्तिहरू नै विवादमा तानिएपछि निष्पक्ष छानबिनको आवश्यकता झन् बढेको छ । त्यसैले सत्यको टुंगो पहुँच र प्रभावले होइन, निष्पक्ष अनुसन्धानले लगाउनुपर्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000