Logo
Logo

आजको मुख्य खबरः अध्यादेशमा राष्ट्रपति अन्योलमा, निर्वाचनको मोडालिटीमा दलहरू मौन


0
Shares

काठमाडौं । राजनीति, अर्थतन्त्र, विकास निर्माणदेखि खेलकुद र अन्तर्राष्ट्रिय घटनासम्मका विभिन्न विषय आज चर्चामा रहे । राष्ट्रपति रामचन्द्र पौडेल अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने अन्योलमा हुनुहुन्छ । निर्वाचनको मिति र मोडालिटीबारे दलहरूबीच संवादसमेत सुरु हुन सकेको छैन । उता, कांग्रेसभित्रको शक्ति संघर्ष थप पेचिलो बन्दै गएको छ । यसैबीच, लामो समयदेखि रोकिएका विकास आयोजना अघि बढाउने प्रतिबद्धता पनि आएका छन् । अब लागौँ, आजका प्रमुख समाचारतर्फ ।

१. प्रेस स्वतन्त्रता र जेनजी आन्दोलनका मुद्दा टुंग्याउने कानुनी व्यवस्थामाथि प्रश्न उठेपछि राष्ट्रपति रामचन्द्र पौडेल अध्यादेशबारे विज्ञहरूको राय लिँदै, जारी गर्ने कि नगर्ने भन्नेमा अन्योल ।

२. निर्वाचनको मिति तथा मोडालिटीबारे सहमति जुटाउन बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रकै बैठक अनिश्चित, नौ दिन बित्दासमेत दलहरूबीच औपचारिक संवाद हुन सकेन ।

३. एक दशक बढी समयदेखि त्रिशूली नदीमाथि अधुरै रहेको घुमाउने पुलको निर्माण अघि बढ्ने, एक महिनाभित्र निर्माण सुरु गर्ने पूर्वाधारमन्त्री सुनिल लम्सालको प्रतिबद्धता ।

४. लगानी आकर्षित गर्न कानुनी तथा नियामकीय सुधारमा सरकार केन्द्रित, कानुन संशोधनमार्फत उद्योग व्यवसाय फस्टाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको परराष्ट्रमन्त्रीको भनाइ ।

५. पार्टीको विधान र अनुशासन नमान्ने निर्वाचित जनप्रतिनिधिहरुलाई पदमा रहिरहन नदिने गगन थापाको चेतावनी, उल्लङ्घन गर्नेमाथि विधानअनुसार कारबाही गरिने भनाइ ।

६. कांग्रेसले टुंग्यायो जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका, हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने तयारी ।

७. दैलेखको जलजलेमा रोकिएको पेट्रोलियम तथा मिथेन ग्यास उत्खननलाई प्राथमिकतामा राख्ने रवि लामिछानेको प्रतिबद्धता, व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन मन्त्रालय र विज्ञसँग परामर्श गरिने ।

८. कांग्रेसको आधिकारिक सभापति आफु भएको शेरबहादुर देउवाको भनाइ, संविधान र कांग्रेसको विधान अनुसार आफूले नै पार्टीको आधिकारिकता प्राप्त गर्नेमा विश्वास व्यक्त ।

९. देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको शशांक कोइरालाको दाबी, आधिकारिकताबारे भ्रममा नपर्न आग्रह गर्दै गगन थापाले आफैँलाई सभापति घोषणा गरेर भ्रम फैलाएको आरोप ।

१०. स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको माग, दुई पटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसक्दा पनि दलीय प्रतिनिधिहरूले अपेक्षाकृत काम गर्न नसकेको आरोप ।

११. २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योगमा पुनः उत्पादन सुरु गर्ने तयारी, ४०८ मध्ये १५ वटा तान मर्मत गरेर नेपाली सेनाको प्राविधिक व्यवस्थापनमा परीक्षण उत्पादन जारी ।

१२. ५० हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६ सय ३३ आरोही नेपालमा, आरोहण सिजनमा मनास्लु र अमादब्लम विदेशी आरोहीको पहिलो रोजाइमा ।

१३. एनआईएमबी एस क्यापिटलको महासचिवमा शिवान्त बहादुर पाँडे निर्विरोध निर्वाचित, संस्थाको १७औँ साधारणसभाबाट आगामी कार्यकालका लागि नेतृत्व चयन ।

१४. चालू आर्थिक वर्ष चार महिनामा २ अर्ब ३८ करोड ८७ लाख युनिट बिजुली भारत र बङ्गलादेशतर्फ निर्यात, विद्युत् बिक्रीबाट २० अर्ब ४८ करोड रुपैयाँ आम्दानी ।

१५. काठमाडौं उपत्यकामा यात्रुको सामान चोरी, पाकेटमारी र लुटपाट गर्नेविरुद्ध प्रहरीको विशेष अपरेसन, विभिन्न स्थानबाट एक महिलासहित १२१ जना पक्राउ ।

१६. शिक्षक–कर्मचारीका माग र पिरमर्काप्रति सरकार संवेदनशील नभएको नेपाल शिक्षक महासंघको आरोप, सातबुँदे माग तत्काल पूरा नगरे आन्दोलन चर्काउने घोषणा ।

१७. खुम्बु पासाङल्हामु गाउँपालिकाले हटायो आइतबारको सार्वजनिक बिदा, स्वास्थ्य संस्था र वडा कार्यालयसहित गाउँपालिकाका सबै कार्यालय अब सातै दिन सञ्चालन हुने ।

१८. करिब १५ करोड रुपैयाँ पर्ने ३ केजी कोकिनसहित ८७ वर्षीय कोरियन नागरिक सुक चोन ली पक्राउ, कोकिन पेरुबाट म्याड्रिड र दोहा हुँदै नेपाल ल्याइएको खुलासा ।

१९. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुर्खेतमा रहेको कर्णाली प्रदेश रङ्गशालामा आउँदो बुधबार उद्घाटन समारोह शुरु हुने, उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने ।

२०. र, म्यानमारमा सर्वसाधारणमाथि सेनाको हवाई आक्रमण जारी, विवाह समारोह र बजारमा बम वर्षाउँदा कम्तीमा ३० जनाको मृत्यु, ४० भन्दा बढी घाइते ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000