काठमाडौं । नेपालले विभिन्न ११ देशसँग दोहोरो कर छुटसम्बन्धी सम्झौता गरे पनि विदेशी लगानी प्रभावित भएको विज्ञहरूले बताएका छन् । उनीहरूले दोहोरो करसम्बन्धी कानुनी व्यवस्थालाई स्पष्ट र एकरूप बनाउन नसक्दा लगानीकर्तामा अन्योल सिर्जना भएको बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको ‘कर्पोरेट ट्याक्स रिपोर्टिङबारे अन्तरक्रिया कार्यक्रम’ मा सहभागी विज्ञहरूले दोहोरो कर छुटसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा विदेशी लगानी आकर्षित गर्ने प्रयासमै चुनौती थपिएको औँल्याए ।
कार्यक्रममा कर्पोरेट करका जानकार अधिवक्ता कपिल ढकालले नेपालले ११ देशसँग दोहोरो कर छुट सम्झौता गरे पनि त्यसको कार्यान्वयनमा स्पष्टता नरहेको बताए । उनका अनुसार कानुनमा भएका व्यवस्थाको सरकारी निकायबाटै आफूअनुकूल व्याख्या हुँदा कर प्रणालीप्रति अन्योल बढेको छ ।
कम्पनीसँगको मिलेमतोमा सरकारी कार्यालयले कानुनको आफूअनुकूल व्याख्या गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । दोहोरो करसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्न आवश्यक नीति संसद्बाट पारित गरी कार्यान्वयनका लागि प्रस्ट मार्गदर्शन दिनुपर्ने उनले बताए ।
ढकालले करसम्बन्धी विषयमा समाचार सम्प्रेषण गर्दा पत्रकारहरू थप जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए । अदालतका आदेश, फैसला र निर्णयको सही अर्थ बुझेर मात्रै समाचार तयार पार्नुपर्ने उनको सुझाव थियो ।
त्यस्तै, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट दुर्गा ज्ञवालीले दोहोरो करसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा विदेशी लगानी भित्र्याउन कठिनाइ भइरहेको बताए । लगानीकर्ताले करसम्बन्धी दायित्व र छुटको व्यवस्थाबारे स्पष्ट जानकारी पाउन नसक्दा लगानीको निर्णय प्रभावित हुन सक्ने उनको भनाइ थियो ।
ज्ञवालीले नेपालमा लाग्नेभन्दा बढी कर भुक्तानी भए पनि अतिरिक्त रकम फिर्ता पाउन समस्या रहेको विषयसमेत उठाए । विदेशमा तोकिएको भन्दा बढी कर भुक्तानी हुँदा प्रणालीमार्फत अतिरिक्त रकम फिर्ता हुने व्यवस्था रहेको उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै प्रणाली विकास गर्नुपर्ने बताए ।
करसम्बन्धी व्यवस्था स्पष्ट बनाउने मात्रै नभई बढी भुक्तानी भएको कर फिर्ता गर्ने प्रक्रियालाई समेत सहज र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।


















