Logo
Logo

डिआइजीहरु म्याद थपको चलखेलमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ पुस । सशस्त्र प्रहरी बलको बढुवामा हालै अनौठो दृश्य देखियो । डिआइजीका सात दरबन्दी रिक्तमा ६ जनाको मात्र बढुवा भयो । किनकि, डिआइजी बढुवाको योग्यता पुगेका उम्मेदवार नै पुगेनन् ।

अझ एसएसपी बढुवाका लागि त एक जना पनि उम्मेदवार भएनन् । जसकारण यतिबेला ७ एसपीलाई कायममुकायम एसएसपीमा बढुवा गरिएको छ । तल्लो तहमा १५ वर्षसम्म पनि बढुवा नहुने तथा माथिल्लो तहमा उम्मेदवारको योग्यता नै नपुग्ने अवस्था आएको छ । संगठनमा करिअर प्लानिङअनुसार भर्ना हुन नसक्दा यस्तो अवस्था आएको हो ।

उता संगठनमा दुई डिआइजी भने म्याद थपको दौडधुपमा उत्रिएका छन् । खड्ग राई र मन्दिप श्रेष्ठको चार वर्षे पदावधि यही माघमा सकिदैछ । सशस्त्र प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकको सिफारिसमा एआइजीको पदावधि एक वर्ष थप्ने सकिने प्रावधान छ । सोहीअनुसार म्याद थपका लागि उनीहरु लागेका छन् । म्याद थप भए एआईजी हुने सम्भावना भएकाले पनि उनीहरु दौडधुपमा लागेका हुन् ।

उता माघ १ देखि एआईजी नारायणबाबु थापासहित दुई दर्जन अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । एआईजी थापासहित एसएसपीहरु इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रेमराज पोखरेल, प्रकाश श्रेष्ठ, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरूङ र राजेन्द्रकुमार अधिकारीले अवकाश पाउँदैछन् ।

अवकाश पाउने एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसिराम दाहाल, रोशन श्रेष्ठ, बसन्तकुमार वोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चौधरी, अर्जुन प्रसाद सापकोटा रहेका छन्। त्यस्तै डीएसपीहरू अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाश कुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदिश प्रसाद थारू, उपेन्द्रबहादुर बुढा क्षेत्रीले पनि अवकाश पाउँदैछन् । ठूलो संख्यामा पदहरु रिक्त भएपछि सशस्त्रमा बढुवाको दौडधुप समेत सुरु भइसकेको छ । एसपी बढुवाका लागि गत आइतबार सूचना समेत प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्