Logo
Logo

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’को प्रयोगकर्ता बढ्दै गएका छन् ।
उक्त एन्ड्रोइडमा एपमा आइतबार मध्याह्न १२ बजेसम्म एक लाख ६२ हजार ५०० प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् ।
धेरै संख्यामा नागरिक एप डाउनलोड भए तापनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु, गृह मन्त्रालयको तथ्यांकअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो ।
परीक्षणका क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिए तापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको उनी बताउँछन् । नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन् ।
सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो । उक्त एपबाट नागरिकल प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् ।
एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।
शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्