काठमाडौं, १९ माघ । पाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी गर्न प्रचण्ड-माधव पक्ष निर्वाचन आयोग जाने भएको छ । आज (साेमबार) बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो पार्टी नै आधिकारिक रहेको दाबी गर्दै आयोग जाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आयोगले हाम्रो पार्टीको विधानअनुसार पदाधिकारी फेरबदल गर्न र अद्यावधिक गरेको आग्रहप्रति पुनः पत्रचार गरेको छ । हामी नै आधिकारिक भएकाले आधिकारिकताबारे दाबी गर्न आयोग जाने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने ।

प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटी विस्तार गरेको थियो ।
दुवै समूहले राजनजीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर ११ माघमा बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गरेकाे थियाे ।
आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको ४४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दियो । त्यसपछि २५ प्रतिशत केन्द्रीय सदस्यको मागअनुसार बैठक बसेको र ४४१ को दुई तिहाइ सहभागी भएको प्रचण्ड माधव समूहको दाबी छ ।











