धनुषा, १९ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् ।
धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको सबस्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अब केही दिनपछि जनकपुर–जयनगर रेल सञ्चालन गर्नका लागि आफैँ आउने बताउँदै भने ‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकै पालामा खरीद गरिएका दुई वटा रेल भित्रिसकेकाले अब छिट्टै सञ्चालन हुने तयारी हुँदैछ ।’
प्रधानमन्त्री ओलीले तराई –मधेशमा केही समूहले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकामा पनि आपत्ति जनाए । ‘केपी ओलीलाई मधेश विरोधी भनेर प्रचार गर्नेहरुले ती मधेशप्रेमी मधेशका गरीब, विपन्न दलित समुदायका डोम, चमार, दुसाध र खत्वेका बच्चाबच्चीलाई काखमा बोक्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने लु हेरौंँ त कत्तिको मधेशप्रेमीहरु हुनुहुँदोरहेछ ।’














