Logo
Logo

संवैधानिक परिषद्को बैठक स्थगित


- दृष्टि संवाददाता

1.8k
Shares

काठमाडौं, २० माघ । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ ५ बजेका लागि बैठक बोलाएका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको असहमतिका कारण संवैधानिक परिषद्को बैठक स्थगित भएको हो । उक्त बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाइएको छ ।

प्रतिनिधिसभा विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइका लागि संसद सचिवालयमा सोही दिन दर्ता भएको थियो । तर, सो पत्र सभामुख अग्नि सापकोटाले सोमबार परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक डाकका थिए ।

तर, प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दा चलिरहेका बेला सोही मुद्दाका पक्ष रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुन नमिल्ने जवाफ दिएका कारण परिषद्को बैठक स्थगित भएको स्रोतले जानकारी दियो ।

बुधबार नियुक्तिको ४५ दिन पूरा हुनेछ । संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्