Logo
Logo

नेकपा ओली गुटको फिल्मीशैली प्रचार


- दृष्टि संवाददाता

3.2k
Shares

काठमाडौं, २१ माघ । ओली गुटको नेकपाले आमसभाको प्रचार–प्रचार फिल्मीशैलीमा गरेको छ । कुनै बेला सहरमा नयाँ फिल्म लाग्दै गर्दा टेम्पो र ट्रकमा पोस्टरसहित माइकिङ हुन्थ्यो । अनलाइन मिडिया र सामाजिक सञ्जालले गर्दा फिल्मको प्रचारशैली फेरिएको छ । अहिले फिल्म क्षेत्रले दुई दशकअघि अपनाएको प्रचार–प्रसारको शैली राजनीतिक दलले अपनाएको छ । यसमा नेकपा ओली गुट अगाडि देखिएको छ ।
नेकपा ओली गुटले यही २३ गते अर्थात शुक्रबार काठमाडौंमा बागमती प्रदेशस्तरिय आमसभा गर्दैछ । पहिलोपटक नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागेको कार्यक्रमको प्रचार फिल्मी शैलीमा गरिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर गाडीमा राखेर सहर घुमाइएको छ ।


यसअघि आमसभाको यसरी प्रचार गरिएको खाशै देखिएको थिएन । बरु २०४६ साल र ६२/६३ को जनआन्दोलन ताका सहरका गल्ली र विजुलीको खम्बाहरु पोस्टर टाँस गरेर प्रचार गरिन्थ्यो । त्यो बेला फिल्मवाला पनि प्रचारको मुख्य अस्त्र पोस्टरलाई बनाइन्थ्यो । तर, अहिलेको जमाना इन्टरनेटको हो । यस्तो अवस्थामा समेत पोस्टरसहित माइकिङ गरेर आमसभाको प्रचार गर्नु भनेको आमसभामा जतिसक्दो धेरै मानिस भेला गर्ने उद्देश्य हो । प्रतिनिधिसभा विघटनपछि अनौपचारिक रुपमा दुई चिरा भएको नेकपाबीच अहिले आमसभा र बेलामा मानिस बटुल्ने होड चलिरहेको छ ।
ओली गुटका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आमसभाको नाममा आफ्नै बढी प्रचार गर्दैछन् । यसअघि प्रधानमन्त्री ओलीको तस्बिरसहित ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लेखेर सहरको विजुलीको पोल रंग्याइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्