Logo
Logo
टिप्पणी

फेरि प्रतिगमनको मतियार बन्दै शेरबहादुर देउवा


दृष्टि संवाददाता


काठमाडौं, ३ फागुन । नेपाली राजनीतिमा प्रतिगमनका हतियार र मतियारको रुपमा चिनिदै आएका शेरबहादुर देउवाले आफ्नो असली स्वरुप भैरहवामा उदांगो पारे ।

सोमबार भैरहवामा नेपाली कांग्रेसले प्रतिगमनविरुद्ध विरोधसभा गरेको थियो । सभालाई कांग्रेस सभापति देउवाले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको एक कदम अघि बढेर समर्थन गरे । ओलीको कदमविरुद्ध आन्दोलन गर्ने तर ओलीको कदम ठीक भन्दै भाषण गर्ने देउवाको असली स्वरुप उदाङ्गो हुने नै भयो । सभापति देउवाले निर्वाचन आयोगप्रति यति धेरै आक्रोश पोखे नि सायद अरु कसैले पोख्ने छैनन् । देउवाले ‘निर्वाचन आयोगले चुनावी कार्यतालिका किन नल्याएको ?’ भन्दै प्रश्न गर्न भ्याए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्दै २०७८ वैशाख १७ र २७ मा निर्वाचन घोषणा गरेका छन् । सोही निर्वाचनको कार्यतालिका आयोगले सार्वजनिक नगरेकोमा देउवालाई ठूलो चिन्ता छ । ओलीको कदम असंवैधानिक भन्दै विरोध गर्ने तर, असंवैधानिक रूपमा घोषणा गरिएको निर्वाचनको कार्यतालिका खोज्ने नीतिल देउवाको नियत प्रष्ट हुन्छ ।

भैरहवामा देउवाले प्रतिगमनको पक्षमा गरेको भाषण सुनेर प्रधानमन्त्री ओली तिन छक्क परेका होलान् ! नपरुन् पनि कसरी ? ओलीलाई भन्दा धेरै चुनाव देउवालाई चाहिएको छ । देउवाले भनेका थिए– ‘जेठ अन्तिमसम्म सरकारले चुनाव गराउनुपर्छ । निर्वाचन आयोगको पनि त्यही काम हो । आयोग संविधान बाहिर जान सक्छ ? उसलाई मतलब नै छैन । निर्वाचन आयोगलाई म यहीबाट भन्न चाहन्छु– प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नु पर्छ ।’

प्रधानन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध सोमबार विरोध कार्यक्रम आयोजना गरिएको थियो । तर, देउवाको बोली सुन्दा लाग्दथ्यो– ‘देउवाको भेषमा केपी शर्मा ओली कांग्रेसको कार्यक्रम सम्बोधन गर्दैछन् !’ निक्कै अभ्यस्त मान्छेले मात्र देउवाको भाषण बुझ्न सक्छ । अचम्म त यो हो कि भैरहवामा देउवाको भाषण ओलीको जत्तिकै प्रष्ट थियो !

शेरबहादुर देउवा प्रतिगमनका स्थायी मतियार हुन् भन्न कुनै आइतबार कुर्नु पर्दैन । उनी सधै प्रतिगमन चाहन्छन् भन्ने अनेक प्रमाण छन् । प्रमाण होइन इतिहास नै काफी छ ! २०४६ सालको जनआन्दोलनले जनताको हातमा ल्याएको व्यवस्था २०५९ सालमा राजालाई सुम्पने देउवा नै हुन् । देउवा प्रतिगमनको स्थायी मतियार हुन भन्ने २०६१ सालको घटनाले पनि पुष्टि गर्छ । आज पनि देउवा, ओली प्रतिगमनको मतियार बनेका छन् ।

असंवैधानिक कदम चालेको भन्दै ओलीको सत्तोसराप गर्लान् भनी कान थापेर बसेका कार्यकर्ता तिन छक्क परे । निर्वाचन आयोगप्रति देउवाको अर्को प्रहार यस्तो थियो– ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन ? अदालतको निर्णय पर्खने काम आयोगको होइन । अदालतले चुनाव हुँदैन भन्यो भने रोके भइगो के बिग्रन्छ ? आयोगले ६ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्यो ।’

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेका ओलीभन्दा देउवालाई चुनाव नहोला कि भन्ने अधिक चिन्ता छ । देउवाको ‘दोक्ला’ चरित्रले यो पुष्टि गर्छ– ‘ओली–देउवा चोचोमोचो प्रगाढ छ ।’

देउवा प्रतिगमनका मतियार हुन् भन्नका लागि एक होइन अनेक प्रमाण छन् । प्रमाण मात्र होइन इतिहास नै काफी छ । २०४६ को जनआन्दोलनले जनताको हातमा ल्याएको व्यवस्था २०५९ मा राजालाई सुम्पने देउवा नै हुन् । देउवा प्रतिगमनको स्थायी मतियार हुन् भन्ने २०६१ को घटनाले पनि पुष्टि गर्छ ।

दुईपटक प्रजातन्त्र र जनताको अधिकार निरंकुशतन्त्रलाई बुझाएका कांग्रेस सभापति देउवा यसपटक पनि प्रजातन्त्र अपहरण गर्ने षड्यन्त्रको मतियार बनेको अब कसरी पो लुक्ला ?

देउवा मनमा एउटा कुरा राखेर व्यवहारमा अर्कै गर्दैछन् । नेकपा फुटेको बेला निर्वाचन गर्ने र सबैभन्दा ठूलो दल बन्ने देउवाको कच्चा चाहना छ । तर, पार्टी भित्रको दवाव थेग्न नसक्दा ओलीको कदम संवैधानिक भन्न मात्र नसकेका हुन् । संविधान जेसुकै होस् उनको एक मात्र उद्देश्य पाँचौ पटक प्रधानमन्त्री बन्ने हो । एक पण्डितले फेरी प्रधानमन्त्री हुन्छस् भनेकै भरमा देउवा फेरी प्रतिगमनको मतियार बनेका हुन् भन्नलाई आइतबार कुर्नु पर्दैन । पल्केको स्याल घरीघरी तिल्के !

प्रतिक्रिया दिनुहोस्