Logo
Logo

लभको चक्करमा पर्नु हुन्न– आकृति पुन, महिला रेस्लर


- दृष्टि न्युज/संवाददाता


उनी सानैदेखि टेलिभिजनमा ‘डब्लूडब्लूई’ हेर्थिन् । त्यतिखेर उनी सोच्थिइन्, ‘म पनि यस्तै बन्न पाए हुन्थ्यो ।’ रेस्लिङका यिनै प्रशंसक आकृति पुनले यो साता काठमाडौंमा आयोजित महिला रेस्लिङको उपाधि जितिन् । आफूभन्दा सिनियर रेस्लर जमुना तामाङलाई जितेपछि उनलाई झनै हौसला बढेको छ । ‘नेपाल महिला रेस्लिङ फाउण्डेशन’मा आवद्ध म्याग्दीकी आकृति भन्छिन्, ‘रेस्लिङबाटै नेपाललाई अन्तर्राष्ट्रियमा चिनाउने इच्छा छ ।’ रेस्लिङलाई इन्टरटेनमेन्ट खेलका रुपमा लिइएपनि ‘रिक्स’ बढी लिनुपर्ने आकृतिको भनाइ छ । अन्तर्राष्ट्रियमा रेस्लिङलाई विशेष खेलका रुपमा लिइन्छ तर, नेपालको सन्दर्भमा अहिलेसम्म खाशै महत्व दिइएको पाइँदैन । यसैबेला ‘नेपाल महिला रेस्लिङ फाउण्डेशन’ले महिला रेस्लर खेलाडीको उत्पादन सुरु गरेको हो । उक्त फाउण्डेशनमा करिब डेढ महिला ‘रेस्लर’ बन्ने सपना साँचेर दैनिक तालिम लिइरहेका छन् । तिनैमध्ये रेस्लर आकृति पुनसँग एमपी सुब्बाको जम्काभेट ।

आकृति पुन, महिला रेस्लर

हिजोआज केमा व्यस्त हो ?
रेस्लिङको टे«निङमै व्यस्त छु । दैनिक दुई घण्टा टे«निङ गर्नुपर्छ । त्यसैले मेरो पूरा समय रेस्लिङमै बितिरहेको छ ।
रेस्लिङमा उपाधि जित्नुभएको छ । कस्तो लागिरहेको छ ?
यो मेरो पहिलो खेल हो । पहिलो खेलमा उपाधि जित्दा एकदमै खुसी लाग्यो ।
पहिलोपटक रिङमा छिर्न लाग्दा डर लागेन ?
सुरुमा डर र नभर्स भएकी थिएँ । एक किसिमले एक्साइटेड पनि थिएँ । मसँग भिडन्त गर्ने जो हुनुहुन्थ्यो, उहाँले पहिले पनि खेलिसक्नु भएको थियो । त्यसैले पनि डर लागेको थियो ।
रेस्लिङ इन्टरटेनमेन्ट खेल भनिन्छ । तपाइँलाई कस्तो लाग्छ ?
हो, रेस्लिङ इन्टरटेनमेन्ट नै हो । तैमाथि महिला रेस्लिङलाई अझ बढी दर्शकले रुचाउँने गरेका छन् । तर, खेल इन्टरटेनमेन्ट भएपनि रिक्स बढी छ । रिक्सी खेल भएकाले जोकोही रेस्लिङमा आउन चाहँदैनन् ।
तपाइँलाई चाहिँ कसरी रेस्लिङमा रुचि जाग्यो ?
म सानैदेखि टिभीमा रेस्लिङ हेथेँ । म डब्लूडब्लूईको नियमित दर्शक हुँ । त्यो बेला डब्लूडब्लूईका रेस्लरहरु देख्दा म पनि त्यस्तै हुन पाए हुन्थ्योजस्तो लाग्थ्यो । मलाई नेपालमा महिला रेस्लिङ पनि हुन्छ भन्ने थाहा थिएन । इन्टरनेटमा सर्च गर्दा नेपालमै भएको महिला रेस्लिङको भिडियोहरु पाएँ । त्यसपछि महिला रेस्लिङको अध्यक्ष भगवती खड्कालाई सम्पर्क गरेर यो क्षेत्रमा लागेकी हुँ ।
तपाइँलाई हेर्दा मोडल बन्नुपर्ने जस्तो देखिनुहुन्छ नि ?
मलाई सबैलाई यसै भन्छन् । सुरुमा त गिज्याएको होला भनेर रिस उठ्थ्यो । तर, मलाई मोडलिङमा रुचि छैन । मेरो उद्देश्य भनेको रेस्लिङ नै हो ।
डब्लूडब्लूईको मन पर्ने खेलाडी को हो ?
निक्की बेल्ला र ब्रिई बेल्ला । उनीहरु ट्न्सि हुन् । मलाई दुवैजना मन पर्छ ।
रेस्लिङमा रिक्स मोल्नु सक्नु प¥यो नि । होइन र ?
रिक्स मोल्न तयार भएरै यो क्षेत्रमा लागेकी हुँ । केही पाउनका लागि गुमाउन तयार हुनुपर्छ । ज्यानको माया गर्नेहरु रेस्लिङमा आउन सक्दैनन् ।
रेस्लिङमा लागेपछि तपाइँलाई चोटपटक लागेको छ कि छैन ?
छ । टे«निङका क्रममा घाँटी सर्केर दुई दिन थला परेकी छु । हिजो अस्ति खेलकै क्रममा पनि मेरो घुँडा झण्डै खुस्किएको । तरिका मिलेन भने त गइन्छ । तैमाथि नेपालमा महिला रेस्लिङको रिङ पनि व्यवस्थित छैन । फाउण्डेशनसँग पैसा छैन । राज्यको सहयोग छैन । त्यसैले खेलमा कतिखेर के हुन्छ, थाहै हुन्न ।
यस्तो रिक्स खेलमा लाग्दा घरपरिवारले के भन्छ ?
फोन ग¥र्यो कि सुरुमै ढाँड भाँच्लास् भन्छन् जहिले । तर, मेरो इच्छा र रुचि भएकाले सर्पोट गर्नुभएको छ । तैपनि होसियार भएर खेल्नु भन्नुहुन्छ ।
महिला रेस्लरहरुले विवाह गर्दैनन् भन्छन् नि ?
ए, यो त कुरा मात्र हो । रेस्लरलाई मन पराउने पुरुष पनि होलान् । तैमाथि रेस्लर भन्नेवित्तिकै खतरा नै हुन्छ भन्ने पनि त छैन ।
तपाइँ ब्युटिफुल रेस्लर हुनुहुन्छ । प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रस्ताव त आइरहेको हुन्छ । तर मलाई मतलव नै हुँदैन । लभको चक्करमा पर्नु हुन्न भन्छु ।
रेस्लरकै जस्तो ज्यान बनाउने सोच छैन ?
जिम गरेर ज्यान बनाउनुपर्छ भन्ने म ठान्दिनँ । टे«निङ गर्दै जाँदा आफै बन्छ ।

प्रतिक्रिया दिनुहोस्