Logo
Logo

पोखरामा मकवानपुरको जोडी, यसरी तुहियो लाखौं कमाउने सपना


- दृष्टि न्युज/संवाददाता



पोखरा, ९ फागुन । कास्की प्रहरीले नक्कली नोट छापेको अभियोगमा एक जोडीलाई पक्रा गरी बुधबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा–९ का ३३ वर्षे प्रेमबहादुर तामाङ र २५ वर्षे सरस्वती बलामी छन् । उनीहरु प्रेमि प्रेमिका हुन् । उनीहरूलाई प्रहरीले गत फागुन ६ मा पोखरा–५, पस्र्याङस्थित उनीहरूको डेरा कोठाबाट नक्कली नोट बनाइरहेको अवस्थामा पक्राउ गरेको थियो ।


गत माघ २२ मा पोखरा–१६, अर्मलास्थित गुरुङ किराना पसलमा सयको रिचार्ड कार्ड किन्दा उनीहरूले दिएको १ हजारको नोट नक्कली पाइएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

यता, नेपाल राष्ट्र बैंक पोखरा शाखामा पनि लगातार नक्कली नोट देखा पर्न थालेपछि चासोको विषय बनेको थियो । प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले नक्कली नोट बनाउन प्रयोग गरिएका सामानसहित १ हजारका १९ थान नक्कली नोट बरामद गरेको छ । नक्कली नोटमा प्रयोग भएको नम्बर च२५ ६३४१४६ र च२५ ६३४१६३ उल्लेख छ ।
प्रहरीले उनीहरूको साथबाट एक थान ल्यापटप, कलर प्रिन्टर, मोबाइललगायत कागज र रिचार्ज कार्डहरू बरामद गरेको जनाएको छ । दुई वर्षदेखि प्रेममा रहेको सो जोडी गत पुस अन्तिम साता मात्र मकवानपुरबाट पोखरा आएको थियो । यू–टुबमा नक्कली पैसा बनाउने भिडियो हेरेर सो कार्यप्रति उद्दत भएको उनीहरूले प्रहरीसँगको बयानमा बताएका छन् । यहाँ आइसकेपछि तीनदिन लेकसाइडको होटलमा बसेर पस्र्याङमा कोठा भाडामा लिई पोखरामै कलर प्रिन्टर, ल्यापटप, फोटोकपी मेसिन, मोटरसाइकललगायत आवश्यक सामग्री खरिद गरेका थिए ।

उनीहरूले बनाएका नक्कली १ हजारका नोट पोखराका विभिन्न २ सय स्थानमा सामान खरिद गर्न साटेका छन् । दिनमै उनीहरूले १५ वटासम्म साट्ने गरेको पाइएको छ । बढी मात्रामा उनीहरूले रिचार्ड कार्ड किनेका छन् ।

प्रतिक्रिया दिनुहोस्