Logo
Logo

राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उल्लंघन गर्दै स्वेच्छाचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उलंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

संविधानले नेपाली नागरिकलाई विनारोकटोक हिँड्डुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उलंघन गर्दे सरकारले पूर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको दावी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधानभन्दा माथि कोही पनि हुँदैन । संविधानको उल्लंघन गर्ने सरकारको औचित्य छैन । म यहीँबाट राजीनामा माग्छु । राजा हामीले बनाएको होइन । प्रधानमन्त्री बनाएको हो । संविधानको उल्लंघन गर्न बनाएको होइन ।’

सरकार स्वेच्छाचारी र निरंकुश बन्दै गैरहेको भन्दै उहाँले सरकारलाई निरंकुशतातर्फ जानबाट संसदले रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाँके निवासीले बर्दियामा एउटा मन्त्रीलाई कालो झण्डा देखाउँछ ।

सरकारले कस्टडीमा लिन्छ । सरकारको मान्छेलाई कस्टडीको अर्थ के हो त्यति पनि थाहा छैन । कस्टडीको अर्थ जिम्मा लिने हो । कैद होइन । जिम्मामा सरकारले लिन्छ । जिम्मा लिएर हत्या गर्छ । हत्या गरेपछि सम्बन्धित पुलिस अफिसरलाई पनि कारबाही हुनुपर्छ । यसको न्यायिक छानबिन समिति गठन गरियोस् ।’

मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उहाँले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘कस्तो संविधानको ? कस्तो सरकारको अभ्यास गर्दैछौ ? बास्तवमा सरकार लोकतान्त्रिक हो कि होइन ?सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? सुरक्षा निकायले मान्नुपर्छ कि पर्दैन ?’

उहाँले सरकार र विचौलाबीच मिलेमतो भएका कारण उखु किसानले उखुको मूल्य नपाएको आरोप लगाउनुभयो ।बुधबारकै बैठकमा बोलेका नेकपाका सांसद महेश बस्नेतले अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । शंकास्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचारप्रसार गर्ने गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्