Logo
Logo

विभिन्न आपराधिक संलग्न एक दर्जन व्यक्ति पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौँ महानगरपालिका–२ लाजिम्पाट निल सरस्वतीथानबाट करिब २१ केजी अवैध लागूऔषध चरेशसहित ४ जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कलंकी बस्ने मकवानपुर थाहा नगरपालिका–११ का २६ वर्षीय रामकुमार मोक्तान, काठमाडौं नैकाप बस्ने २५ वर्षीय रमेशकुमार मोक्तान, काठमाडौं नैकाप बस्ने २५ वर्षीय सुकराम गोले र काठमाडौं महानगरपालिका–१४ बस्ने २४ वर्षीय राजेन्द्र गोले रहेका छन् । लाजिम्पाट एरियामा लागूऔषध बिक्री वितरण तथा ओसारपसार हुँदैछ भन्ने विशेष सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अबस्थामा फेला पारी जाँच गर्दा चरेशजस्तो देखिने वस्तु सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी डेरा गरी बस्ने रामेछाप घर बताउने ३२ वर्षीय सुजन मगरलाई नियन्त्रित लागूऔषध फेनारगन, नुर्फिन र डाईजेल्याप गरी करिब ४१ एम्पुल, बिभिन्न कम्पनीका मोबाईल सेट १८ थान र बिभिन्न कार्यालय, बिद्यालय तथा संघ संस्थाहरुका छाप १८९ थानसहित हिजो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले मगरको कोठा खानतलासी गर्दा उक्त लागूऔषध तथा विभिन्न कागजातहरु फेला पारी पक्राउ गरेको हो । साथै उक्त छापहरु बनाएको अभियोगमा मगरकै भाई २७ वर्षीय सुरेश मगरले समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित फर्स सेक्युरिटी अफिसबाट बैदेशिक रोजगारमा पठाइदिन्छु भनी ५ लाख घुस लिएको अभियोगमा काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र योन्जन र मित्रनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष बिकलाई हिजै राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा उक्त रकम घुस लिदै गर्दा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले घुस लिएको रकम सहित उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै नागार्जुन नगरपालिका–४ स्युचाटारमा प्रहरीलाई १ हजार रूपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं कलंकी बस्ने सर्लाही मलंगवाका २८ वर्षीय शिवनाथ पटेललाई हिजो बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका निज पटेलले प्रहरीलाई उक्त रकम दिई प्रलोभनमा पार्न खोजेकाले उनलाई पक्राउ गरिएको हो ।
बाग्मती नगरपालिका–४ क्षेत्रिय बाटोस्थित भित्रीसडकखण्डमा मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय अशोक लामा र २० वर्षीय विशाल डंगोललाई हिजो बेलुका प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नयाँरोडबाट जिरायततर्फ जाँदै गरेको ना६३प ६८७५ नम्बरको मोटरसाइकलमा आगजनी गर्नुका साथै चालक ४२ वर्षीय सुरेन्द्र महतो समेत ३ जनालाई कुटपिट गरेको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट जिरायत र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएकाहरुलाई उपचारको लागि जिवन अस्पताल हरिवन पठाएकोमा सुरेन्द्र महतोलाई थप उपचारको लागि बिरगंज हेल्थ केयर रिफर गरिएको छ ।

जबरजस्ती करणी गर्ने पक्राउ
बाजुराको त्रिबेणी नगरपालिका¬–८ कालापानी बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका बस्ने ५८ वर्षीय रामबहादुर गिरीलाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको छ । घर नजिकै रहेको जंगलमा दाउरा काट्न गएकी महिलालाई जबरजस्ती करणी गरेको भन्न खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।

सात जुवाडे पक्राउ
काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासस्थित फुर्वा दोर्जेको ग्यारेजमा जुवातास खेलिरहेका ३० वर्षीया सुनिता मोक्तान समेत ७ जनालाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित हिजो साँझ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्