Logo
Logo

वसन्तको कथा कृति ‘कुमाता’ माथि विमर्श


दृष्टि संवाददाता


काठमाडौं । कथाकार वसन्त पराजुलीको पहिलो कथासंग्रह ‘कुमाता’ माथि विमर्श गरिएको छ । चितवनमा रहेर पत्रकारिता गर्दै आएका वसन्तको १० वटा कथाहरू संगृहित ‘कुमाता’ माथि सम्पन्न विमर्शमा उनको कथाका विषयमा टिकाटिप्पणी भए ।

लघुकथा समाजद्वारा शनिबार काठमाडौंमा आयोजित विमर्श कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले ‘कुमाता’का केही कथामाथि खरो टिप्पणी गरिन् । आफ्नो समालोचकीय मन्तव्यको प्रारम्भमै अधिकारीले ‘कुमाता’ शीर्षकमाथि आपत्ति जनाइन । उनले यो शीर्षक किन राखियो, त्यसको उत्तर आउनु पर्ने बताइन् ।

अधिकारीले कथासंग्रहका कतिपय कथाहरूमा नारीलाई अतिनै लाचार र निरीह देखाइएकोमा टिप्पणी गर्दै आफ्नो आपत्ति रहेको उल्लेख गरिन् । यद्यपि उनले वसन्तका केही कथा राम्रो रहेको पनि बताइन् ।

अर्का समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले वसन्तको यस कथासंग्रहले नेपाली कथा साहित्यमा एउटा इँटा थपेको उल्लेख गर्दै लेखकलाई कथा लेख्दा नहतारिएर लेख्न सुझाए ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न विमर्श कार्यक्रममा ‘कुमाता’को प्रकाशन संस्था भुँडिपुराणकातर्फबाट केशव पराजुली, लेखक वसन्त पराजुली, तुलसीहरि कोइराला र अंग्रेजीका अनुवादक भरतले आफ्नो धारणा राखे ।

विमर्श कार्यक्रममा लेखक साहित्यकारहरूको बाक्लो उपस्थिति थियो । कथाकार वसन्त पराजुलीले प्रकाशन संस्थाले ‘कुमाता’ कथासंग्रहको तेस्रो संस्करण प्रकाशन गर्न लागेको बाह्रखरीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्