Logo
Logo

कविता – का! का!! का!!!


वसन्त लोहनी


 

का! का!! का!!!

धुम्बाराहीदेखि थापाथली सम्मको
यात्रा, हो विकासको यात्रा !
‘ग्रेट लिप फरवार्ड’
यति –
हिम मानवको पाइला टेक्दै
ओम्नी –
सम्पूर्ण भ्याउन सक्ने
आईटी देखि करोनासम्म
टेलिकम देखि सेक्युरिटी प्रेस सम्म
करोना जस्तै स्वारुप बदल्न सक्ने
धेरै कानुनी प्रजाति बनाउन सक्ने
यस्तो अनुपम सहयात्रामा
भेटिएको सञ्जय दृष्टि
नयाँ नेपालको

पर्याप्त छ यो भन्न
कस्तो रहेछ मुलुकको
कहिले नभएको अभूतपूर्व छलाङ्ग
विकास र समृद्धिको
घरबेटीको भेटीको

कस्तो रहेछ भ्रष्टाचारको
गन्धै नसहने नाक
चाहे जतिसुकै सुगन्धित त्यो किन नहोस्
अनुहार नै हेर्न नसक्ने आँखाहरू
चाहे जतिसुकै ब्युटीफुल किन नहोस्
‘न्यारो बडी’ होस् या ‘वाइड बडी’
जादुको खरायो बनेर हाराउँछन् ती
गठन, विघटन र पुनःगठनमा

यसरी फुटेको विकासको मूल
यसरी उब्जेको विकासको लहर
टेलिभिजनको पर्दामा देखिने अनुहार
थपडीमा गुन्जिएका आवाजहरू
कुहिरोमा हराएको काग जस्तै
कराउँदै छन् मेरो आकाशमा
का! का!! का!!

मेरो जमीन खाने, पानी थुन्नेको आवाजमा
मेरो नामको विकास रटेर
आफ्नो विकास गर्छन्
भताभुङ्ग पार्दैछन् सर्वत्र
मेरो आँगनको फसल सखाप पार्दैछन्
त्यति मात्र कहाँ हो र ?
जे पनि, जहाँ पनि, भेट्टाएजति
खादैछन्
अपराधसँगको हातेमालोमा
तुहिएको कानुन ?
होईन, ‘टेलर मेड’ कानुन बोकेर
हावासँग कावा खाँदै
कराई रहेका छन्

का! का!! का!!!
शुभ सूचक छैन यो ।

प्रतिक्रिया दिनुहोस्