Logo
Logo

म्यान्मारका जनता भन्छन्- चरा, कुखुरा जसरी जनता मारिँदैछन्


दृष्टि संवाददाता


काठमाडौं । म्यान्मारका सेनाले शनिबार एकैदिन ११४ जनालाई गोली हानी मारेका छन् । मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् । यस घटनालाई गत फेब्रुअरी १ मा सैन्य कू भएयताकै सबैभन्दा घातक र रक्तपातपूर्ण घटनाको रुपमा हेरिएको छ । म्यान्मारका नागरिकले सैन्य कूको विरोध गर्दै लोकतन्त्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै सुरुवातदेखि प्रदर्शन गरिरहेका हुन् ।

सेना तथा प्रहरीले गोली चलाउँदा समेत आन्दोलन नियन्त्रणमा आएको छैन। यो घटनासँगै म्यान्मारको सैन्य शासनको चर्को रुपमा निन्दा भएको छ । अमेरिका, बेलायत, युरोपियन युनियनबाट जुन्ता शासकको विरोध भएको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भनेका छन्,‘बर्मामा सुरक्षाबलबाट भएको रक्तपातपूर्ण घटनाबाट अमेरिका स्तब्ध बनेको छ । यस्तो लाग्छ कि जुन्ता केही मानिसको सेवाको लागि आफ्नो नागरिको ज्यान आहुती दिइरहेको छ । म पीडितका परिवारप्रति गहिरो संवेदान प्रकट गर्न चाहन्छु । बर्माका बहादुर जनताले सेनाको आतंक नकार दिएका छन् ।’

यस्तै बेलायतले म्यान्मारका सुरक्षा बलले निर्दोष नागरिकमाथि गोली चलाएर आफ्नो प्रतिष्ठा गुमाएको बताएको छ । बीबीसीका अनुसार शनिबारको घटनासँगै म्यान्मारको प्रदर्शनमा सेना तथा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ ।

ठूलो रक्तपातपूर्ण घटनापछि म्यान्मारका स्थानीयले जुन्ता शासकबाट शक्तिको चरम दुरुपयोग भएको बताएका छन् । त्यहाँको शासकले प्रदर्शन गरिनु नाजायज भएको र प्रदर्शनमा उत्रिए गोली लाग्नसक्ने चेतावी दिएका छन् । यस दुखद् घटनाबारे म्यान्मारका एक स्थानीय थु या जले रोयटर्ससँग भनेका छन्,‘उनीहरुले हामीलाई चरा र कुखुरा जसरी मारिरहेका छन् । घर भित्रै पनि गोली चलाइएको छ । यद्यपी हामी क्रुर शासनविरुद्ध लडिरहन्छौं ।’

म्यान्मारमा शनिबार सेना दिवस मनाइएको थियो । सेना दिवसका दिन म्यान्मारका हालका शासक सेना प्रमुख मिन अङ लाइङले सेनाले लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने वाचा गरेका थिए ।

तर सोही दिन हिंस्रक गतिविधि भएको हो । सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए । धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए । एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्