Logo
Logo

प्रधानमन्त्रीकै कारण सुन तस्करको सम्पत्ति छानबिन रोकियो


दृष्टि संवाददाता


काठमाडौं । बहुचर्चित ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या भएको तीन वर्ष पुगेको छ । अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएर तस्करहरुले वर्षाैदेखि सुन तस्करी गर्दै आएको यस घटनाको अनुसन्धानलाई केपी ओली नेतृत्वको सरकारले आफ्नो प्रमुख उपलब्धि मान्दै आएको छ । तर, ओली सरकारकै सहयोगमा यो गिरोहले फेरि पनि तस्करी सुचारु गरिसकेको छ ।

तस्कर गिरोहमाथि आधा मात्र अनुसन्धान हुनु र उनीहरुको सम्पत्ति समेत छानबिन नगरेर सरकारले उनीहरुको संरक्षण गरेको छ । कतिसम्म भने गिरोहका नाइकेहरुलाई पक्राउ गर्ने प्रयास समेत सरकारले गरेको छैन । यससम्बन्धमा सरकारले प्रहरीलाई कुनै निर्देशन नै नदिएको कुराले गिरोहसँग सरकार मिलेको आशंका थप बलियो भएको छ ।

गिरोहका मुख्य नाइकेमध्ये एक हुन्, मोहनकुमार अग्रवाल । डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन विभागसँगै उनको भव्य घर छ । घरमा ताला लगाएर उनी भागेको तीन वर्ष भइसकेको छ । प्रहरीले नै उनलाई सूचना दिएर भगाएर औपचारिकता पुरा गर्न छापा मारेको थियो । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले उनीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको छ । कोलकात्ता बसेर अहिले पनि अग्रवाल सुन तस्करीमा सक्रिय रहेको प्रहरी स्रोत बताउँछ ।

बहुचर्चित ३३ किलो सुन तस्करी अनुसन्धानको प्रतिवेदन प्रधानमन्त्री ओलीसँगै भएकाले थप छानबिन हुन सकेको छैन । जसले सुन तस्करी प्रकरणका कतिपयपट पाटाहरू तीन वर्षपछिसम्म पनि अनुत्तरित नै छन् । यसबाट गिरोहमा आबद्ध थप व्यक्तिलाई फाइदा भएको छ ।

अग्रवाल मात्र होइन, सो गिरोहका २४ जना मुख्य अभियुक्तहरु अझै फरार छन् । गृह मन्त्रालयले गठन गरेको बिशेष छानबिन टोलीको अनुसन्धानमा अग्रवालसहित सुनिल अग्रवाल, कालु/किसन/काले भनिने किसनगोपाल अग्रवाल, रमेश उप्रेती, प्रमोद कुमार श्रेष्ठ, मणिराज चौलागाई, कमल कार्की, शिव कुमार गुभाजु, अर्जुन खरेल, रोशन भुषाल भनिने गुप्तलाल भुसालको तस्करीमा मुख्य लगानी रहेको निष्कर्ष निकालेको थियो । जसमध्ये गुप्तलाल अघिल्लो मुद्दामा छुटेका व्यक्ति हुन् ।

त्यस्तै, प्रयास पराजुली, संजय अधिकारी, समीर अधिकारी, भोजराज भण्डारी, रोहित आचार्य, माधव आचार्य, ओम प्रकाश नेवार, सन्दीप खड्का, सुरेन्द्र गौतम, उस्तम मियाँ, टुकबहादुर मगर, भविन तामाङ, आरबी भनिने रक्षा भण्डारी समेत लगानीकर्ता भएपनि तीन वर्षसम्म प्रहरीलाई छल्न यो गिरोह सफल भएका छन् ।

उनीहरुमध्ये मोहन अग्रवाल, भोजराज भण्डारी, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले ‘रेड नोटिस’ जारी गरेको छ । रेड नोटिसमै भएका गोरेका भाइ रमेश उप्रेतीलाई युएइ प्रहरीले डेढ वर्ष अघि नै पक्राउ गरेकोमा उनलाई नेपाल ल्याउन सकेको छैन ।

अहिले तारेखमा पनि उनी दुबईमा व्यवसाय गरिरहेका छन् । फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध भने ‘डिफ्युजन’ नोटिस जारी भएको छ । सन्दीप खड्का दुबईमै कान्तिपुर ट्राभल चलाउँदै आएका छन् । केही व्यक्तिहरु अझै दुबईबाट सुन तस्करी र हुन्डीको कारोबारमा सक्रिय रहेको बताइन्छ ।

न सुन भेटियो न सम्पत्ति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि यो प्रकरण बाहिर आएको थियो । ९ माघ २०७४ मा तस्करी गरेर ल्याइएको ३३ किलो सुन विमानस्थलबाट बानेश्वर लैजाने क्रममा हराएको थियो । तस्करीमा संलग्न गिरोहकै कसैले सुन लुकाएको वा लुटेका थिए । सो सुन थाई एयरका कर्मचारी सानु वनले वानेश्वर लगेका थिए ।

उनको विमानस्थलभित्रै इन्धन ट्याङकरको ठक्करबाट मृत्यु भएपछि घटना सुरुदेखि नै रहस्यमय बनेको थियो । त्यही सुन पत्ता लगाउने क्रममा गिरोहका नाइकेमध्ये एक गोरे उपनामले चिनिने चुणामणि उप्रेतीले सनम शाक्यलाई अपहरण गरी धरानमा लगेर यातना दिएका थिए । यातनाकै क्रममा उनको मृत्यु भयो । सो घटनाको सूचना सुरुमा महानगरीय अपराध महाशाखाले पायो ।

सोही अनुसार महाशाखा धरान पुगेर शव बरामद गरी केही आरोपीलाई पक्राउ गर्यो । सुनसरीमा बरामद शवलाई गाडीमा राखेर मोरङ पुर्याएर मोरङ प्रहरीलाई बुझाएको खुलेपछि त्यसमा छानबिन हुँदा संगठित रुपमा भइरहेको सुन तस्करीको रहस्य खुलेको थियो ।

सुरुमा प्रहरीले एआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेकोमा पछि यसमा ठूलै गिरोह देखिएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बिशेष छानबिन समिति बनाएको थियो । सोही समितिले गोरे लगायत केही नाइकेलाई समेत पक्राउ गर्यो । तर, सरकारले नै पूर्ण रुपमा अनुसन्धान गर्न दिएन ।

अनुसन्धानको अवस्था कस्तो छ भने, हराएको भनिएको साढे ३३ किलो सुन अहिलेसम्म बरामद हुन सकेको छैन । आफुहरुलाई थप अनुसन्धान गर्न दिएको भए सुन बरामद हुने प्रहरी अधिकारीहरु बताउँछन् । अनुसन्धानको प्रतिवेदन पनि प्रधानमन्त्री ओलीसँगै भएकाले थप छानबिन समेत हुन सकेको छैन । जसले सुन तस्करी प्रकरणका कतिपयपट पाटाहरू तीन वर्षपछिसम्म पनि अनुत्तरित नै छन् । यसबाट गिरोहमा आबद्ध थप व्यक्तिलाई फाइदा भएको छ ।

प्रतिवेदन खोई ?

१६ साउन २०७५ मा समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री ओलीले प्रतिवेदन कार्यान्वायन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि अहिलेसम्म थप छानबिन र कार्यान्वायन हुन सकेको छैन ।

प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने दुई सयभन्दा धेरै व्यक्तिको नाम रहेको एक प्रहरी अधिकारी बताउँछन् । प्रतिवेदनमा सुन मात्र नभई नेपालबाट अरबौंको हुन्डीको कारोबार गर्ने नाइकेहरुबारे समेत महत्वपूर्ण सूचना थियो ।

सुन त भेटिएन नै सुन तस्करीमा संलग्नहरुको सम्पत्ति पनि खोजिएको छैन । पक्राउ परेका व्यक्ति उपर सम्पत्ति शुद्धिकरणको छानबिन गर्न सिफारिस भएको थियो । प्रधानमन्त्रीको प्रत्यक्ष मातहत रहेको विभागले माथिको निर्देशन भन्दै यससम्बन्धि फाइल थन्काएर राखेको छ

गिरोहका ठूला कारोबारीमध्ये धेरै धरौटीमा छुटेर अहिले पनि आफ्नो अवैध व्यापार गरिरहेका छन् । जसमा विमल पोद्दार, संजय खेतान भन्ने प्रभात अग्रवाल, आ.डी भनिने राजकुमार दारुका, डब्बु भन्ने इस्तियाज उद्दीन, अबु सलमान भनिने शैयद अकबर शाह, बाला दाई भन्ने बालकृष्ण खड्का, ठाकुर प्रसाद ढुंगाना, चेतन भनिने चेतनाथ भण्डारी, रेवन्त कुमार आचार्य, बिनोद अधिकारी, मोतीराम श्रेष्ठ, मदन सिलवाल, रामकुमार तिवारी, मदनकुमार घिमिरे, राजेन्द्र कुमार शाक्य, महाविर प्रसाद गोल्यान अग्रवाल, सुनिल श्रेष्ठ, गिता श्रेष्ठ, निरु भन्ने नर्वदा खरेल उप्रेती छन् । उनीहरुको सम्पत्तिको विस्तृत छानबिन रोक्न बालुवाटारमा चलखेल भइरहेको छ ।

अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेको गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले गरेको थप खोजमा पनि नेपालमा दुबईबाट हुने सुन तस्करीबारे थप तथ्यबाट फेला परेको थियो ।

‘फिनसेल फाइल्स’ नाम दिइएको सो खोजमा दुबई कालोटी ज्वेलर्सलाई ललितपुरको सास्ता ट्रेडिङ कम्पनीमार्फत अरबौं भुक्तानी भएको थियो । कालोटीसँगै सम्बन्धित कम्पनी भिरेन ज्वेलर्समार्फत खरिद गरी नेपालमा सयौं किलो ल्याइएको पक्राउ परेका गोरे लगायतले बताएका छन् । फाइल बालुवाटारमै थन्किँदा दर्जनौं तस्करहरुलाई हाइसञ्चो भएको छ । अर्काेतर्फ जिल्ला अदालत मोरङमा विचाराधिन मुद्दा समेत कमजोर बन्न पुगेको छ ।

एसएसपी जेलमा, तस्करहरु विदेशमा

सुन तस्करी प्रकरणमा प्रहरीसहित ३३ जना थुनामा छन् । जसमा चार जना प्रहरी अधिकृत मात्र छन् । तस्करीमा संलग्नलाई विमानस्थलमा सघाएको अभियोगमा पक्राउ परेका तत्कालिन एसएसपी श्याम खत्री, डीएसपी संजयसिंह राउत, हवल्दार विष्णुबहादुर खड्का र जवान अम्बरबहादुर थापा मगर पुर्पक्षका लागि कारागारमा छन् ।

पूर्व डीआईजी गोविन्द निरौलालगायतका प्रहरी भने उच्च अदालतबाट साधरण तारेखमा छुटेका थिए । थाई एयरलाइन्सका कर्मचारीको मिलेमतोमा भर्याङ नै मोडिफाई गरेर संगठित रुपमा सुन तस्करी हुँदै आएको र त्यसमा विमानस्थलका केही प्रहरीले साथ रहेको खुलेको थियो ।

गोरे भनिने चुणामणि उप्रेती, टेकबहादुर मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, डा. डेबिट भनिने छिरिङ वाङदेल घले, वेनु श्रेष्ठ, हरिशरण खड्का, एलबी मगर भनिने लालबहादुर मगर, चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ कारागारमा छन् ।

दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुन्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, रामहरी कार्की, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु, विष्णुबहादुर खड्का, अम्बरबहादुर थापा मगर, संजयबहादुर राउत, श्याम खत्री, फाल्दुङ भनिने लक्षबहादुर गुरुङलाई पनि अदालतले थुनामै राख्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्