Logo
Logo

एमाले विवादः अलग अभियान घोषणा गर्ने तयारीमा माधव नेपाल समूह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल समूहले पछिल्लो समय देशब्यापी पार्टी पुनर्गठनको अभियान चलाएको छ । यसैबीच आज नेपाल पक्षले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

आफ्ना समूहका नेता/कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले कारवाही गर्न थालेपछि थप रणनीति बनाउँन माधव समूह जुटेको हो । अध्यक्ष ओलीबाट चार नेतालाई पार्टी सदस्यबाट निलम्बन गरिएपछिको रणनीति बनाउन आजको बैठक बोलाईएको बुझिएको छ ।

आज बस्ने माधव नेपाल पक्षधर स्थायी कमिटी बैठकपछि अब के गर्ने भन्ने बारे ठोस नीति तय हुने र देशब्यापी पार्टी पुनर्गठनको अभियान चलिरहेको र आज स्थायी कमिटीको बैठकले थप घोषणा गर्ने एक नेताको भनाई छ ।

स्राका अनुसार झलनाथ खनाल, माधव नेपाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपानेसहितको बैठक बस्न लागेको हो ।

नेपाल पक्षले विहीवारमात्र माधव नेपालकै उपस्थितिमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गरिसकेको छ । भोजपुर, अर्घाखाँची, गोरखामा कमिटी त्यसअघि नै गठन भइसकेको छ भने शनिवार उदयपुरमा घोषणा हुने नेता बताएको छ ।

नयाँ पार्टी गठन गर्ने तयारी
स्रोतका अनुसार नेपाल समूहले नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन् । एमालेमा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजित हुने अवस्थामा पुगेको छ ।

नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागिसकेको भन्दै विभिन्न समानान्तर कमिटि गठन प्रक्रियालाई तिब्रता दिएका छन।

यसबीच बिहिबार पोखरामा आयोजित कार्यक्रममा केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा समेत गरे । नेपाल केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने भन्दै यो प्रक्रिया गाउँ गाउँसम्म पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्