Logo
Logo

मानिसको रगत राखिएको जुत्ताको बिक्री रोकियो


दृष्टि संवाददाता


काठमाडौं । चर्चित कम्पनी नाइकीले बु्रकलिनको कला संग्रहालय एमएससीएचएफलाई मानिसको रगतको थोपा भएको विवादित ‘शैतानी जुत्ता’विरुद्ध दायर मुद्दा जितेको छ ।

उल्टो क्रस, पेन्टाग्राम र ‘ल्युक १०ः१८’ लेखिएको उक्त जुत्ता नाइकीको एअर म्याक्स नाइन्टीसेभेन एस जुत्ताको स्वरूप परिवर्तन गरेर तयार पारिएको हो । त्यसको मूल्य १,०१८ डलर राखिएको छ । एमएससीएचएफले ¥यापर लिल नास एक्ससँग सहकार्य गरेर ६६६ जोर जुत्ता सोमबार सार्वजनिक गरेको थियो ।

बिबिसीले जनाएअनुसार नाइकीले आफ्नो ट्रेडमार्कको दुरुपयोग भएको दाबी गर्दै त्यसको बिक्री रोक्न मुद्दा दायर गरेको थियो । ती सबै जुत्ताहरू एक मिनेटभन्दा कम अवधिमा बिक्री भएको र एउटा बाहेक सबै हुलाकमार्फत् पठाइसकिएको बताइएको छ ।

कालो र रातो रङ्गका जुत्ता लील नास एक्सको नयाँ गीत सार्वजनिक भएको अवसरमा सार्वजनिक गरिएको थियो । यूट्युबमा अघिल्लो साता सार्वजनिक भएको गीतको म्युजिक भिडिओमा ती ¥यापरले नाइकी ट्रेनर्स लगाउँदै स्वर्गदेखि नर्क पुग्ने एउटा बाटोमा चिप्लिरहेको देखाइएको छ ।

उक्त तस्बिर र जुत्ताले बाइबलको श्लोक ल्युक १०ः१८ लाई जनाउँछ । त्यसमा ‘त्यही भएर उनले उनीहरूलाई भने ‘मैले शैतान बिजुली चम्किए जसरी स्वर्गबाट खसिरहेको देखे’ भनिएको छ । प्रत्येक जुत्ताको सोल नाइकीको प्रख्यात सोल हो जसमा एक थोपा मानिसको रगत सहित थोरै रातो मसी राखिएको छ । ती रगतका थोपाहरू एमएससीएचएफका सदस्यहरूले दान गरेका हुन् ।

‘एमएससीएचएफ र उसले अनुमति नलिएको शैतानी जुत्ताहरूले अन्योल बनाउने एवम् एमएससीएचएफका उत्पादन र नाइकीबीच त्रुटिपूर्ण सम्बन्ध रहेको देखाउने अवस्था छ’ उक्त कम्पनीले आरोपपत्रमा भनेको थियो । नयाँ जुत्ताका कारण कम्पनीले आफ्नो उत्पादनलाई त्यसरी प्रयोग गर्न अनुमति दिएको भन्ने गलत सन्देश दिएको उक्त कम्पनीको भनाइ थियो । बिबिसीबाट

 

प्रतिक्रिया दिनुहोस्