Logo
Logo

सुदूरपश्चिममा नेपाल पक्षका ६ जिल्ला अध्यक्ष हटाइए


दृष्टि संवाददाता


महेन्द्रनगर । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सुदूरपश्चिममा नेपाल–खनाल पक्षका ६ वटा जिल्ला कमिटिका अध्यक्षको जिम्मेवारी खोसेको छ ।


एमाले सुदूरपश्चिम प्रदेश कमिटिले प्रदेशका ९ वटै जिल्ला कमिटि अध्यक्ष र सचिवको जिम्मेवारी ओली निकटलाई दिइएको छ । यसअघि नौमध्ये ६ जिल्लामा नेपाल–खनाल पक्षका जिल्ला कमिटि अध्यक्ष थिए ।
एमाले प्रदेश कमिटिले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्म’ भन्दै सबै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र काटेको बताइएको छ । जसमा एमाले र माओवादी केन्द्र एकीकरण अघिको कमिटिको जिम्मेवारीमा रहेकाभन्दा केही नयाँ रहेका छन् ।
कञ्चनपुर जिल्ला कमिटि अध्यक्ष तारालामा तामाङलाई जिम्मेवारीबाट हटाएर उनको ठाउँमा वीरबहादुर थापालाई राखिएको छ ।
यस्तै नेपाल–खनाल निकट कैलालीका अध्यक्ष दीर्घ सोडारीलाई हटाएर रतन थापा, डडेल्धुरामा डा. तारा जोशीलाई हटाएर प्रकाश साउँद, डोटीमा चक्र मल्ललाई हटाएर रामबहादुर ऐर, अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरा र बझाङमा दीलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष लालबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्