Logo
Logo

औपचारिक रुपमा नयाँ सरकार गठनको तयारीमा छाैँ : मिन विश्वकर्मा


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा आयोजि साक्षात्कारमा बोल्दै उनले भने, ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपालबीच बृहत्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’

जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेको पनि बताए । उनले भने,‘जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो, यसले संविधान मिच्यो, यसले कानून मिच्यो, यसले जनजिविकाको विषयलाई पटक्कै हेरेन, उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो, भ्रष्टाचारमा लिप्त भयो, मुलुकमा विसंगति बढायो, त्यसको भएको हुनाले यसको विकल्पमा अर्को सरकार गठन गर्नुपर्यो ।’

उनले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे । नेता विश्वकर्माले ओली नेतृत्वको सरकारले सरकार सञ्चालनको लागि कानूनी, राजनैतिक र नैतिक धरातल गुमाएको उल्लेख गर्दै आफूहरुले राजीनामा मागेको पनि स्पष्ट पारे ।

उनले भने, ‘आँफैले विघटन गरेको संसदमा जान प्रधानमन्त्रीलाई पटक्कै जाँगर लागेको छैन् । यो कुरा त सत्य हो । र, यो सरकारलाई संसदलाई विजनेश दिनपनि पटक्कै मन छैन् ।’ उनले संसद् सुचारु गर्न र जनप्रिय सरकार सञ्चालनको लागि अब संसद्ले अर्को सरकार खोज्नुपर्ने कुरा सत्य भएको सुनाए ।

उनले नेकपा माओवादी केन्द्रले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने,‘माओवादी केन्द्रले छिटोभन्दा छिटो समर्थन फिर्ता लिनुपर्छ । आन्तरिक कारणले हो कि, वा रणनैतिक कारणले हो, अथवा प्राविधिक कारणले हो, किन हो ? उहाँहरुले फिर्ता लिनुभएको छैन् । उहाँहरुले समर्थन फिर्ता लिएर बाटो खोलिदिएपछि नेपाली कांग्रेसले सबै राजनीतिक दल, सबै भनेको केपी ओली नेतृत्वको एमाले होइन है, तर एमालेभित्रपनि उत्पीडनमा परेकाहरुसँगपनि बृहत्त परामर्श र छलफल गरेर अघि बढ्छौं ।’

उनले संसदले अर्को सरकार खोजिरहेको भएपनि प्रधानमन्त्री ओलीले भने अर्को संसद बनाउनको लागि विभिन्न भेन्टिलेशन खोजिरहेको टिप्पणी गरे । उनले भने,‘बाहिर हल्ला हुन्छ, फेरि संसद विघटन गर्दै हुनुहुन्छ अरे, एपटक आगोमा छोएर हात डढाईसकेको बच्चाले त फेरि त्यो आगोमा हात हाल्दैन भने प्रधानमन्त्री त्यति बालकभन्दा मुर्ख हुनुहुन्छ जस्तो मलाई लाग्दैन् ।’

नेता विश्वकर्माले प्रधानमन्त्री ओली अब संसद विघटनतर्फ नजाने विश्वास दिलाए । उनले भने,‘अहिलेकै संसदले अर्को वैकल्पिक सरकार खोज्नुबाहेक अर्को विकल्प छ जस्तो लाग्दैन् ।’ उनले माओवादी केन्द्र र जसपाका भएकाजति सबै सांसदहरुलाई नटुक्रिनेगरि र नछुट्टिनेगरि एकीकृत ढंगबाट अहिलेको वैकल्पिक सरकार गठनको लागि दत्तचित्त भएर लाग्नेगरि अविश्वासको प्रस्ताव ल्याएर हुन्छ वा प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने त्यसको लागि अघि बढ्ने सुनाए ।

प्रतिक्रिया दिनुहोस्