Logo
Logo

चोरीएका केही मूर्ति फिर्ता, ४० मूर्ति अझै विदेशी भूमिमै


प्रदीपराज दाहाल


काठमाडौं । अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति शुक्रबार हस्तान्तरण गरेको हो ।

न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्यदूतावासले जनाएको छ ।

गैरकानूनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो । चार वर्षको अनुसन्धान एवं कानूनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो ।

हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा नेपालले अमेरिकी सरकार र सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ । त्यस अवसरमा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान पनि गरिएको महावाणिज्य दूतावासले जनाएको छ । हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने जनाइएको छ ।

यो त प्रतिनिधि घटना हुन् । जहाँ मूर्ति फर्किएर स्वदेश आउँछ । तर, सबैले कहाँ त्यस्तो नसिब पाउँछन् र ? कति मूर्ति त विदेशमा रहेका संघ संस्थाले नेपाललाई हस्तान्तरण गरेका छन् । तर, अझै पनि कयौँ शताब्दी पुराना मूर्ति नेपाल ल्याउन सकिएको छैन ।

सन् २०१३ मा काठमाडौँ उपत्यकाका अज्ञात कलाकारले बनाएको बज्रपाणीको मूर्ति चोरी भयो । १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको मूर्ति अमेरिकामा छ ।

अधिकांश नेपालका मूर्ति खुला सीमाको फाइदा उठाउँदै भारतबाट विदेश लाने गरिएको छ । अझ, सक्कल मूर्तिको नक्कली प्रतिमा भएको भन्दै फर्जी कागज बनाएरै पनि विमानस्थलबाट विदेश लैजाने गरिएको छ ।

नेपालका ४० वटा ऐतिहासिक सम्पदा अहिले विदेशी भूमिमा सजिएका छन्। तिनीहरुलाई कसले चोरेर, बेचेर सात समुद्रपारी पु¥याए, हामीलाई थाहा छैन । जसले गरे, उनीहरुले प्रशस्त सम्पति कमाए । तर राष्ट्रलाई घात गरे ।

यो क्रम सन् २०१५ अर्थात् २०७२ सालपछि झनै बढ्यो । भूकम्पले ऐतिहासिक सम्पदा, धरोहर र मन्दिर भत्काउँदा चोरी गर्नेका लागि त्यो सुनौलो मौका सावित हुन पुग्यो । धरहराको इट्टा त चोरी हुने नेपालमा बहुमूल्य नेपाली मूर्ति चोरी नहुने कुरै भएन । भूकम्पको समयमा नै धेरै मूर्ति विदेश पुगे ।

कसरी हुन्छ, मूर्ति चोरी ?

नेपालसँग सीमा जोडिएको भारत आपराधिक गतिविधि गर्नेका लागि सबैभन्दा सजिलो मार्ग हो । नेपालमा हत्या गर्ने पनि सहजै भारत लुक्न सक्छन् । चोरी गर्नेलाई त झन् धेरै सहज छ । यहाँबाट सीमापारी जानलाई कतै रोकटोक छै्रन ।

यसरी भारत पुगेर प्रहरीको फन्दामा परेका नै भन्छन्, सेटिङमा भारत लैजान सामान सजिलो हुन्छ । अर्थात्, सीमामा जाँच राम्ररी नहुँदा, चोरी गर्नेसँग प्रहरी नै मिलिदिँदा राष्ट्रका अमूल्य गहना चोरी भइरहेका छन् ।

पुरानो सामानहरू सामान्यतया ग्रामीण, असुरक्षित क्षेत्रबाट चोरी हुन्छन् जहाँ जाँच राम्ररी हुँदैन । पुरातत्व विभागका अनुसार लुकाएर मूर्तिको प्रतिकात्मक मात्र भएको भन्दै चोरी गर्ने र विदेश पु¥याएर बेच्ने गरिन्छ ।

सीमाबाट मात्रै होइन औपचारिक माध्यमबाट पनि सामान विदेश निकासी भइरहेका छन् । पुरातात्विक र सांस्कृतिक वस्तुको कुटनीतिक तवरबाट, जाँचमा गरिने कन्जुस्याइँले नै चोरी गर्ने गिरोहलाई पश्रय गरिरहेको विभागको तर्क छ ।

यतिमात्र नभई सजाउनका लागि राखिने वस्तु भन्दै विदेश पठाउने चलन पनि मौलाएको छ । पुरातन चिजलाई प्राचिन र मौलिक भनिन्छ भने दुरुस्तै देखिएर त्यसको प्रतिकात्मक मूर्ति बनाएर घरमा सजाउने चलन पनि छ ।

यस्तै, चलन मौलाउँदै अहिले नेपालबाट विदेश लैजाने ट्रेन्ड जस्तै भएको छ । फर्जी कागज बनाएर, अनाधिकृत छापको प्रयोग गरेर सक्कल मूर्तिलाई प्रतिमा मात्रै भन्दै विदेश पु¥याउने चलन छ । स्पष्ट नीति नहुनुले यो किसिमको समस्या निम्तिएको समते विभागको बुझाई छ ।

मूर्ति चोरी गरेर नेपालबाट भारत र भारतबाट थाइल्याण्ड लैजाने गरिन्छ । त्यहाँ फर्जी कागज बनाएर विदेशी मुलुकमा बहुमूल्यमा विक्री गरिन्छ । त्यही विक्री भएका वस्तुलाई अमेरिका लगायतका मुलुकले कि त संग्रहालयमा नभए लिलामी गरेर बेच्ने गरेका छन् ।

अमेरिकाको ‘सेलेस्टियन रियाल्मस्’, बोस्टनको ‘म्युजियम अफ फाइन आर्टस’, शिकागोको संग्रहालय लगायतका धेरै संग्रहालयमा यस्ता ऐतिहासिक कलाकृति सजाएर राखेको पाइन्छ । न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युर्योक’ मा पनि यस्ता चोरीका कलाकृति सजिएका छन् ।

फर्काउने पहलको अभाव

यसरी हराइएका कतिपय मूर्ति नेपालीले संग्रहालय पुग्दा मात्रै थाहा पाउँछन् । धेरैका लागि यस्ता मूर्तिको मूल्य, संस्कृति र जगेर्ना गर्नेबारेमा थाहा हुन्छ । ति व्यक्तिले सम्बन्धित निकायमा जानकारी गराउने, उनीहरूलाई पत्र पठाएर मूर्ति चोरी भएको जानकारी गराउने ज्ञानको अभाव छ ।

धेरै स्थानमा त सरकारी निकायबाट नै पहल हुँदैन । पहल हुने हो भने नेपालका शताब्दी पुराना मूर्ति पनि फर्काउन सकिने विभागको दावी छ । तर, यसका लागि विभागले मात्र नभई सरकारले पनि पहल गर्नुपर्छ । विदेशी दूतावासमा जानकारी गराएर सरकारकै रहोबरमा ति मूर्ति फिर्ता ल्याउनुपर्छ ।

देख्दा ठूलो कुरो नलाग्न सक्छ । तर, यि मूर्तिले नेपालको प्राचिन सभ्यता, इतिहास झल्काउँछ । समय घर्किन्छ, मानिसको मृत्यु हुन्छ । तर, इतिहास मर्दैन । यही इतिहासलाई मर्न नदिन सरकारले तदारुकता देखाउनुपर्ने पुरातत्वविद्को तर्क छ । अन्य मुलुक आफ्नो ऐतिहासिक सम्पदाको उत्खनन गरिरहँदा नेपालले भने आफ्नै सम्पदा जोगाउन नसक्नु विडम्बना भएको विज्ञको दुःखेसो छ ।

प्रतिक्रिया दिनुहोस्