काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म भएको भेटवार्तामा उनले यस्तो आग्रह गरेकी हुन् ।
भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवादबारे चिन्ता प्रकट गरेकी थिइन् । ‘अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुरा गर्यौं,’ राष्ट्रपतिसँगको भेटबारे खनालले भने, ‘उहाँले पार्टी, (कम्युनिस्ट) आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस् मेरो चाहिँ राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुरा गर्नुभयो ।’
राष्ट्रपति र खनालबीच करिब एक घण्टा भेट भएको थियो । राष्ट्रपतिले नेता खनालको स्वास्थ्यको बारेमा पनि चासो राखेकी थिइन् । जवाफमा खनालले आफ्नो व्यक्तिगत स्वास्थ्यको कुरा भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनको चिन्ता लागेको जवाफ दिएको बताए ।
‘मलाई व्यक्तिगत स्वास्थ्यको बारेमा कुनै चिन्ता होइन । चिन्ता पार्टीको बारेमा लागेको छ । आन्दोलनको, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ । अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेको बेलामा सबै पार्टी बलिया, सुदृढ भए एकताबद्ध भएमात्रै लोकतन्त्र बलियो हुन्छ भने,’ खनालले राष्ट्रपतिलाई भनेको कुरा उल्लेख गरे ।
राष्ट्रपति भण्डारीले इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा नेता खनालसँग भेटघाट गरेकी थिइन् ।