Logo
Logo

ओलीको आश्वासन टाट पल्टेकाे व्यापारीले दिएको ‘बाउन्स चेक’ जस्तै : नेता श्रेष्ठ


दृष्टि संवाददाता


ललितपुर । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाटपल्टेको व्यापारीले दिएको ‘बाउन्स चेक’जस्तै भएको बताए ।

जनता समाजवादीको शिल्पी विशेष प्रदेश समितिको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने- ‘अहिलेको परिस्थितिमा ओलीले दिएको आश्वासन टाट पल्टेकाे व्यापारीले दिएको बाउन्स चेक जस्तै हो । यसमा फस्नु हुँदैन ।’

प्रतिनिधिसभा पुनस्थापनापछि प्रधानमन्त्री एकपटक पनि प्रतिनिधिसभाको बैठकमा उपस्थित नभएको पनि उनले बताए । सरकारले हिउँदे अधिवेशनको मुख्य काम विधेयक पारित गर्नु भएपनि सरकारले एउटा विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत नगरेको उनले बताए ।  ‘सरकारले संसदका विभिन्न समितिहरूले पठाएको विधेयक रोकिराख्ने अनि पुनर्स्थापित संसदले प्रभावकारी काम गर्न सकेन भन्दै भ्रम छरिरहेको छ, जो चोर उसैको ठूलो स्वर भनेजस्तो भयो’, नेता श्रेष्ठले भने ।

उनले नैतिकताको आधारमा ओलीले राजिनामा दिनुपर्ने पनि बताए । ‘प्रधानमन्त्रीमा संसदको सामना गर्ने हिम्मत देखिएन । त्यसैले उनले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ’, उनले भने ।

नेता श्रेष्ठले नेपालमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरणजस्ता युगान्तकारी परिवर्तनका क्षेत्रहरूमा प्राप्त सीमित उपलब्धीहरू पनि ओली शासनमा धरापमा परेको आरोप लगाए । ओलीले पटकपटक आश्वासन दिँदै धोका दिने गरेको र ओली सरकारको उल्टो दिनगन्ती सुरु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्