Logo
Logo

नयाँ गठबन्धन बनाउन दलहरूबीच संवाद सुरु


दृष्टि संवाददाता


काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् ।

नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ । काठमाडौंबाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि भन्दै हतारहतार काठमाडौं आएका थिए । ‘४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठनबारे बैठक गर्नुछ, त्यसका लागि फर्कनुपर्नेछ, देशको राजनीतिले कोल्टे फेरेको छ, नयाँ परिस्थिति बन्नेछ, त्यही कामका निम्ति म छिटो जानुपरेको हो,’ कपिलवस्तुमा दाहालले भनेका थिए ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । ‘कांग्रेसको निर्णय सकारात्मक छ, अब हामी जसपासँग पनि छिटो त्यस प्रकारकै निर्णय लिन अनुरोध गर्छौं,’ उनले भने, ‘त्यसपछि सम्बन्धित सबै पार्टी बसेर फाइनल प्रक्रिया अगाडि बढाउँछौं ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्